नक्कली नोट छापेर कारोबार गर्ने जोडी पोखराबाट पक्राउ

काठमाडौं । पोखराबाट नक्कली नोट छापेर कारोबार गर्ने एक जोडी युवा–युवती पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा हेटौँडा मकवानपुर घर भइ पोखरा महनगरपालिका ५ पस्र्याङमा डेरा गरी बस्ने वर्ष ३२ का नरेश लामा र २४ वर्षीया सरस्वती बलामी छन् । 

कास्कीका प्रहरी प्रमुख एस.पी. ओमबहादुर रानाका अनुसार पक्राउ परेका दुवै जनाले अर्मला, पोखरामा स्थित किराना पसलहरुमा नक्कली नोट दिँदै रिचार्ज कार्ड लिएर फरार भएको सूचनाका आधारमा अनुसन्धान शुर गरी उनीहरुलाई पक्राउ गरेको बताए । 

पक्राउ परेका दुवै जनाले बयानमा पोखराका विधिन्न स्थानमा रिचार्ड कार्ड तथा अन्य सामग्री नक्कली नोट प्रयोग गरी खरिद गर्ने बताएका छन् । साथै चलनचल्तीमा रहेको नोटलाई स्क्यानिङ गरेर प्रिन्टर मार्फत प्रिन्ट गर्ने गरेको प्रहरीसमक्ष बयान दिएका छन् । 

प्रहरी स्रोतले भन्यो, ‘सक्कली नोट स्क्यानिङ गरी त्यसैबाट धेरै कपी प्रिन्ट गरी प्रयोग गरिएको पाइएको छ ।’

करिब डेढ वर्ष अगाडी फेसबुकबाट भेट भएका नरेश र सरस्वतीबीच प्रेम सम्बन्धमा थिए । तर, उनीहरु श्रीमान श्रीमती नभएको प्रहरीले जनाएको छ । 

अहिलेसम्म उनीहरुले करिब २ सय ठाउँमा पुगेर नक्कली नोट मार्फत कारोबार गरेको स्वीकार गरेका छन् । नरेश र सरस्वतीले दिनमा १० देखि १५ वटा नोट साट्ने गरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?