नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला रेफ्री क्यान्डिडेट चन्द्रबदना राई, यसरी बनिन् खेलकुदकी आइडल

सयभन्दा बढी राष्ट्रिय मैदानमा रेफ्रीको भूमिका निर्वाह

काठमाडौं । उनले लगाउने कपडामा रङ्गको उपस्थिति कम हुन्छ । प्राय कालो कहिलेकाहीँ सेतो, खैरो र खरानी रङ्गका कपडा उनको रोजाइमा पर्छन् । कुर्ता र सारीमा उनलाई विरलै देखिन्छ । सर्ट, पाइन्टमा ठाँटिएर हिँड्छिन् उनी । स्कुटर भन्दा बाइक चढ्न मनपर्छ उनलाई । त्यसैले उनको यात्राको सहयात्री हो, हिरो हन्डा स्प्लेन्डर । भेषभुषा र चालचलन मात्र नभएर उनको शारीरिक बनावटले पनि उनलाई केही बोल्ड र कड्किलो स्वभावको देखाउँछ । आवाज पनि उस्तै कमान्डिङ । यिनै विशेषताले उनलाई उनको उमेरको महिलाभन्दा फरक बनाएका छन् । आफ्नो प्रवृत्ति अनुसारको प्रोफेसन चयन गरेकी हुन् या प्रोफेसनले उनको प्रवृत्ति यस्तो बनाइदिएको हो त्यो उनै जानुन् तर, जे होस् उनको व्यक्तित्व सुहाउँदो छ ।

उनी अर्थात् नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला रेफ्री क्यान्डिडेट चन्द्र वदना राई । नेपाली खेल क्षेत्रमा मात्रै नभएर अन्तर्राष्ट्रिय परिवेशलाई मध्यनजर गर्दा पनि यस पेशामा महिलाहरुको संलग्नता न्यून देखिन्छ । त्यही न्यून संख्यामा पर्ने राईले घरेलु तथा अन्तर्राष्ट्रिय मैदान गरेर १ सय भन्दा बढी भलिबल प्रतियोगीताहरुमा रेफ्रीको भूमिका निर्वाह गरिसकेकी छिन् । उनको सिठीको तालमा खेल र खेलाडीहरु चल्छन्, उनी मैदानकी ‘डिसिप्लिन इन्चार्ज’ हुन् भन्दा फरक नपर्ला ।


ADVERTISEMENT

रेफ्रीका रुपमा बढी चिनिने भएतापनि वदना कुनै समयकी अब्बल भलिबल खेलाडी पनि हुन् । समग्रमा हेर्दा भलिबलसँग आफ्नो सम्बन्ध गाँसिएको दुई दशक भन्दा बढी भइसकेको उनी बताउँछिन् । 

‘केटाहरु सँगसँगै मैदानमा उत्रिन्थें’

भोजपुरको नेपाले डाँडाको मध्यम वर्गीय परिवारमा जन्मिएकी वदनाका पिता शिक्षक थिए, माता गृहिणी । गाउँले परिवेश, ८ सन्तानको जिम्मेवारी, पढाएर कमाएको पुगनपुग पैसा आदिले गाँजे पनि छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनुपर्छ भन्ने भावना आफ्ना पितामा पहिल्यैदेखि भएको उनी सुनाउँछिन् । त्यसैले होला एसएलसी सक्नासाथ उनलाई विं सं २०४८ सालमा उच्च शिक्षाका लागि काठमाडौं पठाइयो । 

त्यसो त वदना सबै किसिमका खेलहरुमा अब्बल थिइन्, स्कुले जीवनदेखि नै । तर, उनको फ्रेब्रेट थियो ‘भलिबल’ । ९ कक्षामा छँदादेखि नै उनी आफ्नो जिल्लाको भलिबल च्याम्पियन थिइन् ।
काठमाडौं आउनासाथ भलिबल सिक्ने, खेल्ने ठाउँ पत्ता लगाउन नसक्दा आफूले कराँते प्रशिक्षण लिएर ब्ल्याक बेल्ट प्राप्त गरेको क्षण उनलाई अझै पनि रमाइलो लाग्छ । भन्छिन्, ‘नखेली त म बस्नै सक्दिनथिएँ, कुनै न कुनै खेल खेल्नै पर्ने ।’ 

उनमा भलिबलको हुटहुटी यतिसम्म थियो कि विवाहपछि पनि ‘साथीकोमा जान्छु’ भन्दै ढाँटेर उनी भलिबल खेल्न पुगेकी छिन् । त्यो समय र अहिलेको समयलाई तुलना गर्दा निकै ठूलो परिवर्तन भएको उनले बताइन् ।

भलिबल र उनको सम्बन्ध तबदेखि पुनः गाँसियो जबदेखि उनी कलेज भर्ना भइन् । कलेजमा हुने प्रतियोगितादेखि अन्तर कलेज प्रतियोगिताहरुमा सक्रिय भएर भाग लिन्थिन् उनी । फ्ल्यास ब्याकमा गएर वदना आफ्नो युवावस्थाका रमाइला क्षणहरु स्मरण गर्छिन्, ‘त्यसवेला भलिबल खेल्ने केटीहरु निकै कम थिए त्यसैले कलेजका केटाहरु अभ्यास गरिरहँदा उनीहरुसँगै मिसिएर खेल्थें ।’ 

विस्तारै उनले कलेजको महिला भलिबल टिमको अगुवाइ गरिन् । टिम बनाउने, प्रतिस्पर्धामा जाने, अभ्यास गराउने लगायतका क्रियाकलापहरु आफ्नै नेतृत्वमा हुने गरेको बताउँछिन् उनी ।
उनमा भलिबलको हुटहुटी यतिसम्म थियो कि विवाहपछि पनि ‘साथीकोमा जान्छु’ भन्दै ढाँटेर उनी भलिबल खेल्न पुगेकी छिन् । त्यो समय र अहिलेको समयलाई तुलना गर्दा निकै ठूलो परिवर्तन भएको उनले बताइन् ।

‘अहिलेका महिला खेलाडीहरुलाई निकै सहज छ, अवसरहरु छन्, नाम छ,’ उनले थपिन्, ‘हामी त वर्षमा बल्लतल्ल एकपटक प्रतियोगिता हुने भएकाले जर्सी लगाउन पाउँदा कति खुसी हुन्थ्यौं, त्यो दिन हाम्रा लागि कुनै चाड बराबर हुन्थ्यो ।’

व्यक्ति एक, आयाम अनेक

चन्द्र वदना खेलाडी हुन् । नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला रेफ्री हुन् । साथै शिक्षिका पनि । वदना त्यस्ता कम खेलाडीमा पर्छिन् जसले धेरै पढेका छन् । उनीसँग शिक्षा र शारीरिक शिक्षा दुवै संकायको स्नातकोत्तर डिग्री छ भने कानून विषयमा उनले स्नातक तहसम्म अध्ययन गरेकी छिन् ।

उनले आफ्नो खेल जीवनमा ३ वटा राष्ट्रिय खेल तथा अन्य जिल्ला, क्षेत्रीय स्तरका खेलहरु खेलिसकेकी छिन् । सयभन्दा बढी राष्ट्रिय मैदानमा रेफ्री बसिसकेकी छिन् । र, केही अन्तर्राष्ट्रिय मैदानमा पनि । यसका अतिरिक्त वदनाको जीवनको अर्को महत्वपूर्ण पाटो के हो भने उनी १३ वर्षको समयावधिमा २५ सय भन्दा बढी विद्यार्थीको गुरु भइसकेकी छिन् । 

खेलमै सीमित रहेर जीवन चलाउन मुस्किल हुन्छ भन्ने कुरा बेलैमा बुझेर आफू शिक्षण पेशामा लागेको उनले बताइन् । ‘मन त आफ्नो सम्पूर्ण समय खेललाई मात्रै दिउँ भन्ने थियो नि,’ उनले भनिन्, ‘तर, मसँग जोडिएका मेरा छोराछोरीको भविष्यकै लागि भएपनि मैले जागिर खानैपर्ने भयो ।’ 

अहिले उनी कोटेश्वर बहुमुखी कलेज र महेन्द्र रत्नराज्य कलेजको स्नातक तहमा अध्यापन गरिरहेकी छिन् ।

‘वाउ मामु यू आर ग्रेट’

चन्द्रवदनाले तीनैवटा राष्ट्रिय खेल विवाहपछि खेलेकी हुन् ।  कक्षा १२ सक्नासाथ विवाह भएकाले खेलमा, पढाइमा र करियरमा आफूले जेजति उचाइ हासिल गरेको छ त्यो विवाहपछि नै भएको हो भन्दै उनी प्रष्ट्याउँछिन् । 

परिवारमा उनका श्रीमान र २ छोरी १ छोरा छन् ।

त्यसो त श्रीमान र परिवारले उनलाई खेल क्षेत्रमा लागिरहँदा सपोर्ट नगरेका पनि होइनन् । यद्यपि, धेरैतिर हात हालेकाले समय व्यवस्थापन गर्न केही गाह्रो हुने गुनासो उनले पोखिन् । छोराछोरी जन्मिएको केही महिनामै उनीहरुलाई घरमै छोडेर प्रतियोगिताका लागि विभिन्न ठाउँ पुगेकी चन्द्रवदना अहिले पनि छोराछोरीको छुट्टि मिलाएर आफू रेफ्री बस्ने गेम हेर्न लैजान्छिन् ।

छोरालाई पनि उनीजस्तै खेलमा औधी रुचि छ । विशेषतः फुटबलमा । आफ्नी आमाले खेलेको, रेफ्री बसेको देख्दा छोरा भन्छन्, ‘वाउ मामु यू आर ग्रेट ।’ त्यो क्षण उनलाई औधी रमाइलो लाग्छ । 

Leave a comment