रेशम चौधरीको सांसद पद खारेज हुने

काठमाडौं । जिल्ला अदालत कैलालीले रेशम चौधरीलाई टिकापुर घटनाको दोषि ठहर गरेसँगै उनको सांसद पद खारेज हुने भएको छ ।  

बुधवार कैलाली जिल्ला अदालतले कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका चोरी मुद्दामा जन्मकैदको सजाय सुनाएपछि चौधरीको पद खारेजी हुने भएको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नैतिक पतन देखिने फौजदारी कसूर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने जानकारी दिए । पाण्डे भन्छन्, ‘अदालतबाट दोषी ठहर भएपछि सांसद नरहने कानूनी व्यवस्था छ ।’

पुर्पक्षका लागि थुनामा रहेका चौधरीले १९ पुसमा सिंहदरबारमा पुगेर सांसद पदको सपथ लिएका थिए । 

फरार रहेकै अवस्थामा राजपाबाट चुनाव लडेर चौधरी कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

विसं. २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक नाबालकसहित सात प्रहरीको ज्यान जाने गरी भएको घटनामा सांसद रेशमलाल चौधरीसहित विपक्षी बनाइएको थियो ।

यसैगरी ३ जनालाई सफाई र १३ जना कैद भुक्तान गरेकाले आजै कैदमुक्त हुने फैसला समेत अदालतले सुनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?