नेपाली समाजका ४ उदीयमान तारा : यसकारण मेरा अतिथि !

काठमाडौं । आज अन्तर्राष्ट्रिय नारी दिवस । आज गोष्ठी, बैठक, -याली आदि जस्ता कार्यक्रम आयोजना गरेर विश्वभरि महिलासम्बन्धि समस्या र मुद्दाहरुलाई विशेष रुपमा छलफल गरिन्छ । यही अवसरमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल वा उदाहरणीय कार्य गर्ने महिलाहरुलाई पनि सम्मान गर्ने गरिन्छ ।

मैले केही यस्ता महिलाहरु देखेकी छु, भेटेकी छु जसले जीवनका चुनौतीलाई पार गर्दै आफ्नो शोकलाई शक्तिमा बदल्न सफल भएका छन् । ‘ह्यासट्याग स्माइल’ कार्यक्रममा समेटिएका कथामध्ये केही प्रेरणादायी महिलाका कथा :


ADVERTISEMENT

सुनिता दनुवार

समाजसेवामा होमिएका व्यक्तिहरुको कमी छैन हाम्रो समाजमा तर, सुनिता यसकारण पनि अरुभन्दा फरक छिन् कि उनी ती छोरीहरुको हकहितका निमित्त लागिपरेकी छिन् जसलाई हेर्दा उनलाई आफ्नो भोगाइको झल्को आउँछ । यसकारण पनि चेलीबेटी बेचबिखन विरुद्धको अभियानका निमित्त उनी उचित अभियान्ता हुन् कि उनी आफै पनि कुनै समय भारतमा बेचिएर यौन धन्दामा लाग्न बाध्य बनाइएकी थिइन् । 

पश्चिम पहाडको दैलेखस्थित विकट गाउँको गरिब परिवारमा जन्मनु, गरिबी, कुपोषणका कारण दाजुभाइ दिदीबहिनीको मृत्यु हुनु र परिवारै काश्मिरमा बसाइ सर्नु, हातमुख जोड्नकै लागि कापी कलम बोक्ने उमेरमा हातले गिटी, बालुवासँग मित्रता गाँस्नु, १४ वर्षको उमेरमा भारतको कोठीमा बेचिनु, नचाहँदा नचाहँदै कैयौं अपरिचित पुरुषहरुको यौनकुण्ठा मेटाउने साधन बनाइनु, हरेक दिन शारीरिक र मानसिक दुव्र्यवहारको शिकार हुनु, चार वर्ष लामो कहालीलाग्दो जीवनपछि उद्धार भएर नेपाल फर्कनु, शक्ति समूहको स्थापना गर्नु, म्यागासेसे लगायत विश्वका प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुनु सुनिताको जीवनको त्यो पाटो हो जोसँग प्राय सबै अवगत छन् ।

हो, यी शब्दले उनको जीवनमा आइपरेका अत्यास लाग्दा क्षणहरुलाई सामान्य देखाइ रहेका छन् । सुनिताले जुन पीडा महसुस गरिन्, जस्तो संघर्ष गरिन् त्यसलाई न्याय गर्ने हरफ शायदै कहिले रचिएला । यद्यपि, कहिलेकाहीँ नराम्रै घटनाले पनि राम्रो नतिजा ल्याइदिँदो रहेछ भन्ने अनुभूति भएको बताउँछिन् सुनिता । भन्छिन्, ‘मैले आफ्नो शोकलाई शक्तिमा बदलें’। उनको संघर्ष र सफलताको कथा हेर्न भिडियो लिंक क्लिक गर्नुहोस् :

शवाना खातुन

‘चेन्ज योर वुन्ड्स इन्टु विस्डम’ अर्थात् आफ्नो शोकलाई शक्तिमा बदल । संसारकै लोकप्रिय सञ्चारकर्मी र फिलान्थ्रोपिस्ट ओप्रा विन्फ्रेले भनेका यी शब्दहरु सुन्नमा जति सान्दर्भिक छन् वास्तविक जीवनमा अपनाउन उति नै कठिन । यद्यपि जसले यसको मर्म बुझेर आफ्नो जीवनमा लागू गर्ने क्षमता राख्छ उसलाई कुनै बाधाव्यवधानले सफल हुनबाट रोक्न सक्दैन । यस्तै एक उदाहरण हुन् शवाना खातुन । 

१ सय १५ किलो तौल भएको उनको शरीरले उनलाई जति थिचेको थियो उनको आत्मविश्वासलाई पनि त्यति नै । खाउँखाउँ लाउँलाउँ हुने उमेरमा उनी आफ्नो ज्यानलाई मिल्ने कपडा खोज्दै भौतारिन्थिन् शहरका पसलहरुमा । आफन्तकोमा हुने बिहे, पार्टीमा जान त लगभग छोडिसकेकी थिइन् उनले । त्यस्तै, घरमै हुने समारोहमा पनि मान्छेको हुलभन्दा अलग्गै बस्न रुचाउने भइसकेकी थिइन् उनी ।

मान्छेहरुको नकारात्मक प्रतिक्रियाबाट विचलित हुने, आफैले आफैलाई घृणा गर्ने, समाजबाट टाढै रहने जस्ता क्रियाकलापबाट आफैलाई हरेक दिन पिल्साइरहेकी शवानाको जीवनमा पनि एउटा टर्निङ प्वाइन्ट आयो । जसकारण ९ महिनामै उनी ५६ केजी तौल घटाउन सफल भइन् । के हो त्यो टर्निङ प्वाइन्ट ? जान्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :

मुना घिमिरे

मुना घिमिरे, ३९, अहिले सडक विभाग अन्तर्गत हेभी इक्युप्मेन्ट डिभिजनमा कार्यरत छिन् । उनलाई देखेपछि ‘शक्ति शरीरमा होइन दिमागमा हुन्छ’ उनी आफैले भनिरहने यो भनाइ साँच्चै हो जस्तो लाग्यो । मुनाले त्यसबेला देखि डोजर, एक्सकाभेटर जस्ता हेभी इक्युपमेन्ट चलाउन शुरु गरिन् जुन बेला महिलाले स्कुटर चलाउनु समेत ठूलो उपलब्धि मानिन्थ्यो । 

आफूमा यो रुचि कसरी पलायो भन्ने थाहा छैन उनलाई तर, दाजुभाइ नहुनु त्यहीकारण समाजले आफ्नो परिवारलाई हेप्नु, ‘ला आमाबुबालाई अब कसले पाल्छ’ भन्ने जस्ता तीखा प्रश्नहरु तेर्सिरहनु आदिले नै आफूलाई समाजको मानसिकतालाई गलत सावित गर्न उत्प्रेरित गरेको उनी बताउँछिन् ।

मुनालाई डोजर, एक्सकाभेटर चलाउन सिक्न त्यति गाह्रो लागेन जति सिकेको कुरालाई प्रस्तुत गर्ने अवसर पाउन लाग्यो । महिला भएकै कारण हातमा आइसकेका अवसर पनि फुत्केको धेरै घटनाहरु उनलाई याद छ । उनले भोगेका चुनौती र त्यसबट सञ्चित गरिरहेको खुसी हेर्न भिडियो लिंक क्लिक गर्नुहोस् :

श्री नेहा

२५ वर्षे श्री नेहा थिएटर आर्टिस्ट हुन् । केही वर्षअघिसम्म थिएटरमै सक्रिय भएतापनि आजभोलि भने संस्थालाई नै आफ्नो समय दिइरहेकी छिन् उनले ।

‘स्नेही काख’ स्थापना गर्ने प्रेरणा पनि थिएटरमै काम गर्ने क्रममा पाएको उनले सुनाइन् । ‘एकदिन थिएटरबाट फर्किंदै गर्दा मानसिक सन्तुलन गुमाएका व्यक्ति सडकमा लम्पसार परिरहेको देखेँ,’ उनले अगाडि थपिन्, ‘त्यस व्यक्तिले भोक लागेको सङ्केत गरे त्यसपछि हरेक दिन म उसका लागि घरबाट खाना ल्याइदिन थालें ।’

त्यही व्यक्तिलाई खाना खुवाउँदै जाँदा श्रीनेहाको मस्तिष्कमा एउटा कुराले आयोे, ‘खानलाई समेत तड्पिरेहका बेसाहारा मानसिक सन्तुलन गुमाएकाहरुको उद्धार गर्ने ।’

त्यसपछि योजनाअनुरुप ‘स्नेही काख’ संस्थाको स्थापना भयो । संस्था स्थापना भएको अहिले ८ वर्ष पूरा भइसकेको छ । यहाँ मानसिक सन्तुलन गुमाएका २४ जना महिला, ११ जना पुरुष र ७ बालबालिका छन् । महिला र बालबालिकालाई एउटै घरमा राखिएको छ भने पुरुषलाई भिन्नै घरमा । त्यस्तै उनीहरुबाट जन्मिएका बालबालिकालाई  हुर्काउने जिम्मा पनि श्री नेहाले नै लिएकी छिन् ।

‘स्नेही काख’की श्री नेहाको ममतामयी कथा हेर्न भिडियो लिंक क्लिक गर्नुहोस् :

Leave a comment