मुर्झाएको आत्मविश्वासमा श्वास भर्नेे थलो : जीवन विज्ञान

काठमाडौं । बाँच्नु र जिउनु दुई फरक कुरा हुन् । सास रहुन्जेल मान्छे बाँच्छ तर, जिउनलाई यो पर्याप्त छैन । जीवनलाई जीवन जसरी जिउने कला नजान्नुले मानिस र जीवनबीच एउटा दूरी सिर्जना गरिदिएको छ । यही दूरीलाई खुम्चाउँदै एक पाइला खुसीतर्फ बढाउनु हो जीवन विज्ञानको उद्देश्य । सुख, समृद्धि र शान्तिको नारासहित विगत ८ वर्षदेखि जीवन विज्ञान क्रियाशील छ । शहरमा बस्ने अधिकांश व्यक्तिका निमित्त खुसी ‘मृगतृष्णा’ भएको वेला जीवन विज्ञानले एउटा नयाँ अवधारणा ल्याएको यस संस्थाका संस्थापक तथा जीवन विकास विज्ञान विशेषज्ञ रमेश नेपालले बताए ।

‘हामी न कुनै धर्मको प्रचार गर्छौं न कुनै समुदायसँग सम्बन्धित छौं’, उनले भने, ‘यहाँ फगत आध्यात्मिक विषयमा चर्चा हुन्छ र त्यहीसँग सम्बन्धित गतिविधिहरु गराइन्छ ।’   

फराकिलो ठाउँ, चटक्क मिलाएर रोपिएका फूल र रुखहरु, सफा, स्वच्छ वातावरण आदिले यहाँको शालीनतालाई झनै निखारेको छ । 

यहाँ ध्यान गराइन्छ, आध्यात्मिक ज्ञान बाँडिन्छ, तनावलाई विभिन्न क्रियाकलापमार्फत् निकाश दिइन्छ, सकारात्मक विचार जन्माइन्छ र जीवनलाई केलाउँदै बाँच्नुको अर्थ पहिल्याइन्छ । 

काठमाडौंको चावाहिलमा अवस्थित जीवन विज्ञानमा दैनिक २ सय भन्दा बढी व्यक्तिहरु उपस्थित हुने जीवन विज्ञानका व्यवस्थापक किरण रुपाखेतीले बताए ।

तनावबाट मुक्ति दिलाउन, निभेको खुसीको चिरागलाई जलाउन र जीवनको अर्थ बुझाउन यहाँ तनाव विसर्जन क्रिया, जीवशैली विज्ञान, ध्यान विज्ञान, वोध विज्ञान आदि जस्ता पद्धतिहरु अपनाइन्छ ।

संस्थाका अर्का संस्थापक तथा जीवन विकास विज्ञान विशेषज्ञ भानु शर्मा भन्छन्, ‘हराएको खुसी, दबिएको आवाज र मुर्झाएको आत्मविश्वासलाई जीवनमा पुनस्थापित गराउने थलो बनेको छ, जीवन विज्ञान’ । 

सुविधा र सुखलाई पछ्याउने क्रममा खुसी पछाडि छुटेको पत्तो पाइरहेका छैनन् कतिपयले । जसले पत्तो पाएका छन् उनीहरुले ‘खुसी’ फर्काउने तरिका नजानेर भौतारिरहेको अवस्था छ । जीवन विज्ञान तिनै व्यक्तिहरुलाई उचित मार्ग देखाउने पथप्रदर्शक रहेको संस्थापक शर्मा बताउँछन् ।

कुनै धर्म, समुदायसँग सम्बन्धित नभइ स्वतन्त्र रुपमा अध्यात्म र आत्मिक विषयलाई उठान गर्ने भएकाले पनि यहाँ आउने अधिकांशले आफूमा परिवर्तन आएको महसुस गर्छन् । इन्जिनियर, प्रध्यापक, बैंकर्स लगायत विभिन्न पेशामा संलग्न व्यक्तिदेखि बालबालिका र वृद्धवृद्धाहरु पनि यहाँ नियमित रुपमा आउने गर्छन् ।

प्रवचन, ज्ञान भन्नासाथ नाक खुम्चाउने युवा वर्गको संलग्नता पनि उत्तिकै उल्लासमय छ । 

विगत ५ वर्षदेखि जीवन विज्ञानमा निरन्तर आइरहने सुरेन्द्र गिरी पेशाले सफ्टवेयर डेभ्लपर हुन् । यहाँ आउनुअघि आफू मान्छेहरुको अगाडि खुलेर कुरा राख्न नसक्ने र भावुक भएको उनी सुनाउँछन् । ‘बोल्ने भन्नासाथ मेरो मुटु काम्न थाल्थ्यो,’ उनी अगाडि थप्छन्, ‘अहिले जतिसुकै मासका अगाडि पनि निर्धक्क भएर बोल्न सक्छु’। उनमा यतिसम्म परिवर्तन आयो कि जीवन विज्ञानको प्रशिक्षार्थीका रुपमा यहाँ आउने सुरेन्द्र आजकल यहाँको प्रशिक्षक पनि भएका छन् । ‘परिवर्तन भनेको आफैले अनुभव गर्ने र अरुले देख्ने कुरा हो, ममा आएको सकारात्मक परिवर्तनको कारण हो, जीवन विज्ञान’, उनले मुस्कुराउँदै भने । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?