१३ तस्वीरमा हेर्नुहोस् बागमती नदीको उद्गमस्थल, ‘बाघद्वार’

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठदेखि करिब ३ घण्टाको पैदल यात्रा पश्चात एउटा ओसिलो, एकान्त ठाउँमा पुगिन्छ ।

२ हजार ४ सय ९० मिटर उचाइमा रहेको यस ठाउँमा ढुङ्गाबाट निर्मित शिव लिंग, शिवका मूर्ति, त्रिशुल आदि छन् । नजिकै गुफाजस्तो देखिने संरचना छ त्यससँगै त्यहाँ बस्ने योगीका निमित्त बनाइएको सानो टहरा पनि । शिवपुरी राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने यस ठाउँलाई ‘बाघद्वार’ भनिन्छ ।

धार्मिक रुपमा अत्यन्तै महत्वपूर्ण मानिने यस ठाउँको उत्पतिका बारेमा थुप्रै मिथकहरु पनि छन् । किंवदन्ती अनुसार शिवजीले तपस्या गर्ने क्रममा बाघले सुरक्षा दिएकाले यस स्थलको नाम बाघद्वार रहन गएको हो ।

बाघद्वारलाई यसकारण पनि महत्वपूर्ण मानिन्छ किनभने यो बागमती नदीको उद्गमस्थल हो ।

बागमती नदी नेपालका पवित्र नदीमध्ये एक हो । हिन्दूका निमित्त मात्र नभएर किराँत र बुद्ध धर्मावलम्बीका निमित्त पनि बागमती नदी उत्तिकै महत्वपूर्ण छ । उपत्यकाको विभिन्न ठाउँलाई सिञ्चित गर्दै बग्ने यस नदीको उत्पति भने शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘बाघद्वार’बाट भएको हो । नववर्षको प्रारम्भमा उपत्यका तथा वरपरका श्रद्धालु भक्तजनहरू बाघद्वारमा आइ स्नान तथा पूजाआजा गर्ने गर्दछन् ।

शिवपुरी राष्ट्रिय निकुञ्जमा बाघद्वारमात्र नभएर जामाचो, विष्णुद्वार, तारेभिर, नागी गुम्बा आदि प्रमुख तीर्थस्थल पनि अवस्थित छन् । 

हेर्नुहोस् लोकपथको लेन्सले कैद गरेका बाघद्वारका केही तस्वीरहरु :

तस्वीर : गोविन्द गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?