भारतीय लोकसभा निर्वाचन चैत २८ देखि जेठ ५ गतेसम्म

एजेन्सी । भारतीय लोकसभाको निर्वाचनको मिति आइतवार घोषणा गरिएको छ । 

भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी चैत २८ देखि जेठ ५ गतेसम्म (अप्रिल ११ पछि मे १९) सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गरेका हुन् । 

मुलुकभर जम्मा ५४३ सदस्यका लागि विभिन्न सात चरणमा गरिने निर्वाचनलाई शान्तिपूर्ण एवम् स्वच्छरूपमा सम्पन्न गर्न दलहरूलाई आयुक्त आरोडाले आग्रह गरे । उनका अनुसार निर्वाचन सात चरणमा हुनेछन् । 

अप्रिल ११ मा पहिलो चरणको निर्वाचन हुनेछ भने १९ मेसम्म सातौ चरणको निर्वाचन हुनेछ भने सबै निर्वाचनको परिणाम मे २३ मा सार्वजनिक गरिने भारतीय निर्वाचन आयोगले जनाएको छ । 

पहिलो चरण अर्थात् अप्रिल ११ मा हुने निर्वाचनबाट २० राज्यका ९१ जनप्रतिनिधिको चयनका लागि मतदान हुनेछ भने दोस्रो चरणमा अप्रिल १८ मा १३ राज्यका ९७ सीटका लागि मतदान गरिनेछ । 

त्यस्तै१४ राज्यका ११५ लोक सभा सदस्यका लागि आगामी अप्रिल २३ मा तेस्रो चरणको मतदान हुने निर्वाचन आयोगले तोकेको छ । चौथो चरणको निर्वाचन अप्रिल २९ मा ९ राज्यका ७१ सीटका लागि मतदान हुनेछ भने पाँचौँ चरणको निर्वाचन मे महिनाको ६ तारिखमा सात राज्यमा ५१ सीटका लागि निर्वाचन गरिने छ । त्यस्तै छैठौँ चरणमा सात राज्यका ५९ र सातौँ चरणमा आठ राज्यका ५९ सदस्यका लागि क्रमशः मे १२ र मे १९ मा मतदान गरिने निर्वाचन आयोगले बताएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि निर्वाचनमा भाग लिने घोषणा गरिसक्नुभएको छ । त्यस्तै प्रतिपक्षी दल भारतीय काँगे्रसले पार्टीका अध्यक्ष राहुल गान्धीको नेतृत्वमा निर्वाचनमा जानेछ । 
लोकसभा निर्वाचनका लागि झण्डै ९० करोड नागरिक मतदानका लागि योग्य रहेका छन् । भारतमा जम्मा एक अर्ब २५ करोड जनसङ्ख्या रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?