वर्षकै उत्कृष्ट महिला क्रिकेट खेलाडी भन्छिन्, खेलाडी बन्ने सपना नै महंगो छ

काठमाडौं । ‘घरबाट खासै सपोर्ट थिएन तर मैले खेल्न छोडिन । खेलमार्फत् राष्ट्रलाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरका खेल खेलेपछि मात्रै खेलप्रति परिवारको विश्वास ब्युँतियो ।’

चाहे जुनसुकै खेल होस् र जोसुकै खेलाडी आफ्नो जीवन कथा भन्दा प्रायले नछुटाउने वाक्य हो यो । वाक्यका शब्द फेरबदल भएपनि भाव यही हो । फेरि अन्तर्राष्ट्रिय स्तरका खेल खेल्ने अवसर पाउनेको हकमा मात्रै यो वाक्य ‘कमन’ हुन जान्छ । घरेलु मैदानमै सीमित खेलाडीहरुमा कमैले महसुस गर्न पाउँछन्, घरपरिवारको साथ र सुखी जीवन ।

सीता यस मामिलामा आफूलाई भाग्यमानी मान्छिन् । सिता रानामगर राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान तथा अल राउन्डर खेलाडी हुन् । उनी एपिएफको महिला क्रिकेट टिमबाट खेल्छिन् । सानैदेखि खेलाडी हुन चाहेको र अहिलेसम्म आफ्नै सपनालाई पछ्याउन पाएकोमा उनी दङ्ग छिन् ।

परिवारले पनि आफूलाई भरपूर साथ दिइरहेको उनी बताउँछिन् । उनका बुबाले आफन्तका अगाडि उनलाई चिनाउँदा ‘मेरो छोरा हो यो’ भन्दै मुस्कुराउँछन् । त्यस्तै कान्छी बहिनीले उनलाई ‘माईला’ भन्दै सम्बोधन गर्छिन् ।

दोस्रो सन्तान भएकाले ‘माइलो’ हुनु स्वभाविक हो तर, उनले निर्वाह गर्ने भूमिकाले ‘ईकार’लाई ‘आकार’मा मात्रै परिणत गरेन सिंगो दृष्टिकोण परिवर्तन गरिदिएको छ ।

यद्यपि, केही वर्ष अघिसम्म दृश्य यस्तो थिएन । १५ वर्षको हुँदा ‘साथीकामा पढ्न जान्छु’ भन्दै घरमा ढाँटेर ३ दिने क्रिकेट म्याचको लागि अभ्यास गर्न गएको त्यो क्षण अझै पनि सिताको मस्तिष्कमा ताजै छ ।

बुबा आर्मी भएकाले पनि स्वभावैले कडा थिए । छोरीले खेलेको, उफ्रिएको खासै रुचाउँदैनथिए । राष्ट्रिय स्तरका दुई खेल खेलिसक्दा पनि बुबाले आफ्नो खेल जीवनलाई त्यति मन नपराएको सुनाउँछिन् सिता । तर, उनका बुबाको खेलप्रतिको दृष्टिकोण तब एकाएक परिवर्तन भयो जब उनले एसीसी प्रथम यू १९ प्रतियोगितामा नेपालको तर्फबाट खेलेर टिमलाई जिताएवापत १५ हजार रुपैयाँ पुरस्कार पाइन् । 

‘मैले त्यो पैसा बुबाको हातमा राखिदिएँ’, केही भावुक हुँदै सिता त्यो क्षण स्मरण गर्छिन्, ‘बुबाको हातमा पैसा थियो, आँखामा आँसु अनि मनमा गर्व ।’

खेल क्षेत्रमा पाइला चाल्दा खासै साथ नपाएपनि आफ्नो कडा मिहिनेतकै कारण अहिले उनले परिवारको साथ र सम्मान दुवै पाएकी छिन् । यद्यपि, आफ्नो सम्पूर्ण जीवन खेललाई समर्पण गर्ने कतिपय खेलाडीले उचित सम्मान र नाम नपाउँदा उनलाई असाध्यै दुःख लाग्छ । ‘देखेको सपना साकार हुन्छ रे’, सिता अगाडि थप्छिन्, ‘तर, खेलाडीहरुका लागि त सपना पनि महंगो छ’ ।

प्रशिक्षणको अभाव, खेल मैदानको अभाव, आयस्रोतको अभाव, सुविधाको अभाव, प्रोत्साहन गर्ने क्षेत्रको अभाव आदिजस्ता अभावै अभावको बीचमा पनि महिला टिमले आफ्नै बलबुतामा यत्तिको सफलता फूलाउनु सराहना गर्न लायक भएको उनी बताउँछिन् ।

देशको उत्कृष्ट खेलाडी, विदेशमा ‘प्लेयर अफ दि टुर्नामेन्ट’

जुनसुकै मैदानमा खेल्न पुग्दा पनि नेपाली टोलीको खाता खोल्ने जिम्मेवारी उनैको पोल्टामा छ । यसकारण पनि उनलाई सम्मान गरिन्छ कि नेपालको पहिलो राष्ट्रिय महिला क्रिकेट टिमको स्थापनाकाल देखि नै सिता सक्रिय खेलाडीका रुपमा टिममा सामिल छिन् । जहाँ जस्तो अवस्थामा पुगेपनि भावी पिढीले आफूलाई सधैं क्रिकेटको पहिलो ‘ब्याच’का रुपमा सम्झने कुराले औधी गर्व महसुस हुने उनी बताउँछिन् ।

खेल जीवनले १२ वर्ष पूरा गरिसक्दा आफूले प्राप्त गरेको उपलब्धि भनेको यही सम्मान, केही हृदयसी मित्र र उनीहरुसँग बिताएका रमाइला पलहरु हुन् जस्तो लाग्छ उनलाई । तर, यो वर्ष सिताका लागि फलदायी सावित भएको छ । क्रिकेट खेलाडी संघ (सिप्यान)ले उनलाई वर्षकै उत्कृष्ट महिला क्रिकेट खेलाडीका रुपमा छनोट गरेको छ ।

यस उपाधि सँगसँगै सिताले ६६ हजार नगद पुरस्कार पनि प्राप्त गरेकी छिन् । यसअघि थाइल्याण्डमा आयोजित आइसीसी महिला वल्र्ड कपको एसिया छनोटमा पनि उनले ‘प्लेयर अफ दि टुर्नामेन्ट’ को उपाधि हासिल गरेकी थिइन् । नेपालले उक्त छनोटमा उपविजेताको रुपमा चित्त बुझाउनु परेपनि सिताको यस उपलब्धिले टिमलाई केही राहत दिलाएको थियो । 

आफ्नै देशको ‘उत्कृष्ट खेलाडी’ को उपाधि पाउनु र अन्तर्राष्ट्रिय मैदानमा बेजोड प्रस्तुति दिएर ‘प्लेयर अफ दि टुर्नामेन्ट’ हुनुले यतिवेला ‘डबल सेलिब्रेसन’को माहोल सिर्जना गरिदिएको उनी बताउँछिन् । ‘यो उपाधि अप्रत्यासित हो,’ खुसी मुद्रामा उनले लोकपथलाई भनिन्, ‘१२ वर्षको करियरमा पहिलो पटक कुनै उपाधि पाएकी हुँ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?