एक वर्षमै पन्ध्र किमि पक्की सडक

राँझा । बाँकेको खजुरा गाउँपालिकाले यो आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने गरी निर्माण प्रक्रिया अगाडि बढाएको छ । 

चालु अर्थिक वर्ष २०७५-७६ भित्रै निर्माणकार्य सम्पन्न हुनेगरी ठेक्का प्रक्रिया अगाडि बढेको गाउँपालिकाका अध्यक्ष किश्मतकुमार कक्षपतिले बताए । ‘‘गाउँपालिकाभित्रका महत्वपूर्ण सबै सडक विस्तार र कालोपत्रे गर्ने काम धमाधम अगाडि बढेको छ’ उनले भने ।

‘गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा हामी यो वर्ष १५ किलोमिटर सडक पक्की कालोपत्रे गर्नेछौँ ।’ 

गाउँपालिका–४ प्रहरी बिटदेखि इ गाउँ, एफगाउँ हुँदै पेडारी गाउँसम्मको ७ दशमलव किलोमिटर सडकको बोलपत्र प्रक्रिया अगाडि बढिसकेको अध्यक्ष कक्षपतिले जानकारी दिए । 

यसबाहेक अन्य स–साना सडक समेत गरी १५ किलोमिटर सडक पक्की गर्ने लक्ष्यका साथ योजना अगाडि बढाएको उनले  उल्लेख गरे । 

गाउँपालिका, प्रदेश सरकार, सांसद विकास कोष र सङ्घीय सरकार समपूरक कोषको १५ करोड बजेटमा सडक निर्माण प्रक्रिया अघि बढेको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनीयर कञ्चन तिवारीले बताए ।

उनका अनुसार ३ दशमलव ७५ मिटर चौडाइ रहने गरी सडक निर्माण गरिने छ । चालु आर्थिक वर्षको असार मसान्तभित्रै कार्य सम्पन्न गर्ने गरी निर्माण प्रक्रिया अगाडि बढेको इञ्जिनीयर तिवारीले जानकारी दिए । 

एक वर्षमै १५ किलोमिटर पक्की सडक निर्माण हुनु गाउँपालिकावासीको लागि खुशीको कुरा भएको गाउँपालिका विज्ञ समूहका सदस्य एवं स्थानीय अगुवा पूर्णचन्द्र उपाध्याय बताए । नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत खजुरा बजार क्षेत्रमा सडक विस्तार गरी चार लेन बनाउने प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?