सिके राउतसँगको सहमति राष्ट्रघाती हुन सक्ने कांग्रेस नेता केसीको आशंका, उत्ताउलो नबन्न प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ  – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले सरकारले सिके राउतसँग गरेको सहमति शंकास्पद भएकाले कारण यसको सूक्ष्म अनुसन्धान  आवश्यक रहेको बताएका छन् । 

लोकपथ टिभीको कार्यक्रम खास कुरासँगको अन्तर्वार्तामा केसीले सरकारको एक वर्ष काण्डैकाण्डले विभुषित भएको भन्दै यो सहमतिको जड अनेक हुन सक्ने आशंका व्यक्त गरे ।

उनले भने, “एउटा पृथकतावादी  समूह आफ्ना राष्ट्रघाती मुद्दा त्यागेर राष्ट्रिय राजनीतिमा आउनु स्वागतयोग्य र उपलब्धिपूर्ण छ । तर मन वचन कर्मले उनीहरुले सहमतिका बुँदा पालना गर्छन् कि गर्दैनन् भन्ने कुरा महत्वपूर्ण छ । जिल्ला अदालत कैलालीले कैलालीको टिकापुर घटनामा रेशम चौधरीलाई मुख्य दोषी ठहर गरी कारावासको सजाय सुनाएलगत्तै आक्रोशित  भइ सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको राजपालाई देखाउनकै लागि सिके राउतसँग सहमति गरी उत्ताउलोपन देखाएको हो र राष्ट्रघाती मुद्दामा सहमति जनाएको हो भने यो देशको सार्वभौमसत्ता बचाउनको लागि हामी मर्नपनि तयार छौँ ।”

  अर्को एक प्रसंगमा केसीले नेपाली कांग्रेस लोकतान्त्रिक पद्धतीमा विश्वास गर्ने पार्टी भएकोले विभिन्न विचार प्रतिक्रियाहरु जन्मेको र त्यसलाई छलफल गरी टुङ्ग्याउन आफूहरु लागि परेको दाबी गरे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?