पर्यटन बोर्डमा अनियमितता, १२ करोडका बिलभर्पाई गायब

 काठमाडौं – नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ। महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो।

महालेखाले स्रेस्ता उपलब्ध गराउन पटकपटक निर्देशन दिए पनि स्रेस्ता हराएको जबाफ दिई बोर्डका अधिकारीले उम्किने प्रयास गर्दै आएका छन्। महालेखा परीक्षकको कार्यालयका नायब महालेखापरीक्षक विष्णुप्रसाद रिजालले पर्यटन बोर्डमा चरम आर्थिक अनुशासनहीनता भेटिएको बताए। ‘१२ करोड २८ लाख रुपैयाँ खर्च गरेको बिलभर्पाई हराएको छ,’ रिजालले भने, ‘बोर्डले स्रेस्ता हराएको जवाफ पठाएको छ।’ रिजालका अनुसार बजेट खर्च गरेपछि पुस्ट्याइँका लागि बिलभर्पाई उपलब्ध गराउनुपर्छ तर बोर्डका अधिकारीले महालेखालाई स्रेस्ता हराएको बताउँदै आएका छन्।

स्रेस्ता हराएको विषयमा कोकसको मिलिभगत थियो भन्ने विषयमा तालुक मन्त्रालयले छानबिन गरेर सम्बन्धित अधिकारीलाई कारबाही गर्नुपर्ने रिजालले बताए। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७४ मा स्रेस्ताको विषयमा प्रश्न उठाइएको थियो। वार्षिक प्रतिवेदन–२०७५ तयारी पार्ने क्रममा समेत महालेखाले स्रेस्ता बुझाउन निर्देशन दिएकोमा बोर्डले हराएको प्रतिउत्तर पठाएको छ। स्रेस्ता उपलब्ध गराउन नसकेपछि भ्रष्टाचार लुकाउनकै लागि बिलभर्पाई गायब गरेको स्रोतको दाबी छ। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?