मधेश यात्रामा पूर्वराजा, ज्ञानेन्द्र शाह भर्सेस सीके राउत !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज (बुधवार)प्रदेश २ को राजधानी जनकपुर प्रस्थान गर्दै छन् । काठमाडौंबाट हवाईमार्ग हुँदै जनकपुर एयरपोर्ट जाने कार्यक्रम तय भएको छ ।  

यो सँगै तराईमा पूर्वराजा शाहको चर्चा चल्न थालेको छ भने सरकारसँग सहमति गरेर एकाएक चर्चामा आएका सीके राउतको चर्चा सेलाएको छ । 

गत बुधवार पूर्व मुमा बडामहारानी रत्न शाह अस्पताल भर्ना भएपछि पूर्व राजा शाहको तराई–मधेश भ्रमण स्थगित भएको थियो । स्थगित भएको

तराई–मधेश भ्रमण आजदेखि पुनः शुरु हुन लागेको हो ।

यतिबेला जनकपुरका चोक चौतारा र चिया पसलमा पूर्वराजा शाहको चर्चा चलिरहेको छ । ढल्केबर, महेन्द्रनगरबाट जनकपुर प्रदेश गर्ने ठाउँ–ठाउँमा पूर्वराजाको जनजयकार गर्दै ब्यानर तथा होर्डिङबोर्ड लगाइएका छन् भने जनकपुर शहरभित्र पनि ठाउँठाउँमा पूर्वराजाको स्वागतमा ब्यानर टाँगिएका छन् । पूर्वराजाका समर्थकहरु उनलाई स्वागत गर्न सडकमा तैनाथ भएका छन् । 

यसैगरी भोलि (बिहीवार) पूर्वराजा शाहले जनकपुरको जानकिमन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । साथै चैत १ गते सर्लाही, २ गते उदयपुर र ३ गते सप्तरीको विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

यता सरकारसँग सहमति गरेको दुई दिनपछि जनकपुर पुगेका सीके राउतको चर्चा क्रमिक रुपमा सेलाउँदै गएको छ । सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरेको पर्सिपल्ट जनकपुर पुगेका उनलाई बुलेट प्रुफ ज्याकेट, कालो चश्मा र माक्स लगाएर अनुहार छोपेका कार्यकर्ताले फ्रि मधेश लेखिएको झण्डा फहराउँदै स्वागत गरेका थिए । 

सरकारसँग सहमति गरेर मूलधारको राजनीतिमा आएको सीके राउतका कार्यकर्ताले गरेको यस्तो क्रियाकलापले राजनीति क्षेत्र तंरगित भएको छ भने यसको चैतर्फि विरोध समेत भएको थियो । 

मधेश झरेका सीके राउत र उनका समर्थकका गतिविधिहरु एकाएक सेलाएका छन् । 

बरु पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकको दौडधूप मधेशमा शुरु भएको छ । उनी विभिन्न धार्मिक कार्यक्रममा सरिक हुने बताइएको छ । 

सीके राउतसँग सरकारले गरेको सम्झौताको पक्ष–विपक्षका समाचार तथा मिडिया सामाग्रिले काठमाडौंमा हल्लाखल्ला गरिरहेका बेला जनकपुरमा भने सीके राउतको खासै चर्चा छैन । 

गत आइतवार मधेश पुगेका राउत जनकपुरको बाल्वाटोलस्थित आफ्नै निवासमा बसिरहेका छन् । 

राउत हाल कुनै सार्वजनिक कार्यक्रम वा भेटघाटमा सामेल भएको देखिएको छैन । 

सीके राउतका सहयोगीका अनुसार लामो समय परिवारबाट टाढा भएकाले राउत अहिले पारिवारिक भेटघाटमा व्यस्त छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?