नेपाली खेलकुदको आज कालो दिन

काठमाडौं । आज फागुन २९ अर्थात् नेपाली खेलकुद जगतको कालो दिन ।

आज कै दिन नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको मैदान दशरथ रगंशालामा सयौंको संख्यामा खेल समर्थकहरुले ज्यान गुमाएका थिए । त्यतिबेला फुटबल खेल हेर्ने क्रममा भागदौड मच्चिदा बालबालिकादेखि बुढापाका समेतको मृत्यु भएको थियो ।

त्यसैले आजको दिनलाई नेपाली खेलकुदमा कालो दिनको संज्ञा दिदैं आइरहेको छ । 

वि.सं २०४४ साल फागुन २९ गते त्रिभुवन च्यालेन्ज शिल्ड फुटबल प्रतियोगिता चलिरहेको थियो । त्यतिबेला नेपाली फुटबलको क्रेज पनि बढ्दो थियो, त्यो पनि दशरथ रंगशालामा । त्यतिबेला प्याराफिटमा बसेर फुटबल हेर्नुको मज्जा नै बेग्लै हुन्थ्यो ।

स्वदेशी टिमको समर्थनमा नेपाली समर्थकहरुको भिड पनि निक्कै बाक्लो थियो । त्यहि भिडमा थिए, कपन निवासी विकाश गुरुङ । व्यवसायिक क्षेत्रमा काम गरिरहेका उनी सानैदेखि फुटबल प्रेमी समेत  थिए । 

गुरुङ त्यो दिनलाई सम्झिदैं भन्छन्, ‘ त्रिभुवन च्यालेन्ज शिल्डको फाइनल खेल थियो, मान्छेहरुको भिड निक्कै बाक्लो थिए, फाइनलमा नेपालको जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति आर्मी क्लबबीच खेल भइरहेको थियो, सबै जना खेल हेर्नमा मस्त थिए, तर, एक्कासी असिना पानि र हावाहुरी आएपछि मानिसहरु भागभाग भए, बालबालिकादेखि बुढापाकासम्म फुटबल हेर्न आएका थिए, त्यतिबेला धेरैको मृत्यु भयो ।’ 

साथै उनले त्यतिबेला रंगशालाको सबै गेट बन्द भएकै कारण सयौंको संख्यामा खेल समर्थकहरुको मृत्यु भएको पनि बताए । ‘त्यो घटना पछि नै दशरथ रंगशालाको गेट दोस्रो हाफ नसकिदै खोल्न थालिएको हो, उनले लोकपथलाई बताए । 

त्यस्तै अर्को प्रत्यक्षदर्शी मदन जोशीका अनुसार आफु भाग्यवस बाच्न सफल भएको बताए ।

‘भागदौड मच्चिदा म सबैभन्दा अगाडि नै पुगेको थियो, गेट खुल्ने आशामा अगाडि नै दौडिए, तर, पछाडिबाट मान्छको भिडले एक्कासी म लगायत अगाडि रहेको सबैलाई पेल्यो, मेरो मुटु नै फुट्ला जस्तै भएको थियो, अरुहरु त्यतिबेला त्यहि ढले, म जसोतसो बाच्न सफल भए ।’, उनले भने । 

त्यति बेला ९३ जनाका मृत्युको भएको थियो भने सयौंको संख्यामा खेल समर्थकहरु घाइते भएका थिए । तर, अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले भने मृत्यु हुनेको संख्या यति नै भन्न नसकिने जानकारी समेत दिएको छ । 

मानविय क्षतीको हिसाबमा यो घट्नालाई नेपालको नवौं स्थानमा रहेको छ । त्यतिबेलाका तत्कालिन शिक्षा र संस्कृती मन्त्री केशर बहादुर बिष्ट र एन्फाका अध्यक्ष कमल थापाले मृतकहरु प्रति शोक व्यक्त गरेका थिए । 

उक्त घटनापछि दशरथ रंगशालालाई नयाँ स्वरुपमा परिवर्तन गरेको थियो । सन् १९९९ मा नेपालले दक्षिण एशियाली खेलकुद ‘साग’ आयोजना ग-यो । त्यतिबेला नै चिनले दशरथ रंगशाला निर्माण गरेको थियो ।

चिन सरकारले रंगशालामा बिच्छ्याइएको ट्रयाक एण्ड फिल्ड देखि फल्ड लाइटसमेत जडान गरिदिएको थियो । हाल यो रंगशालामा पुनर्निर्माणको काम धमाधम भइरहेको छ । रंगशालामा छाना, प्याराफिटदेखि नयाँ पिल्लर हाल्नेसम्मको काम पनि भइरहेको छ । 

१३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’को आयोजनाको जिम्मेवारी नेपाल पाएसँगै निर्माणको कामलाई पनि तीव्र रुपले अघि बढाइरहेको छ । निर्माणको काम अन्तिम चरणमा पुगेपनि कहिलेसम्म नयाँ स्वरुपको दशरंथ रगंशाला तयार हुन्छ त्यो भने भन्न सकिने अवस्थामा छैन ।

तर, आशा गरौँ ३१ वर्ष अगाडि घटेको त्यो घटना पुनः नदोहोरियोस् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?