च्याम्पियन्स लिग : लिभरपुल अन्तिम आठमा प्रवेश, क्वाटरफाइनलको समिकरण पूरा

एजेन्सी । इंग्लिस क्लब लिभरपुल जारी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 बुधवार राति सम्पन्न भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा लिभरपुलले जर्मन क्लब वायर्न म्युनिखलाई ३-१ को नतिजा निकाल्दै अन्तिम आठको स्थान तय गरेको हो । यसअघि भएको पहिलो लेगको खेल भने गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको २६ औँ मिनेटमा साडियो मानेले गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । ३९ औँ मिनेटमा लिभरपुलका जोएल मोटिपले आत्मघाती गोल गरे । त्यस्तै ६९ औँ मिनेटमा भर्जिल भान डेजकले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए ।

यता ८४ औँ मिनेटमा मानेले व्यक्तिगत दोस्रो तथा क्लबको लागि तेस्रो गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल लिभरपुलले ३-१ गोल अन्तरले जित्यो । यो जितसँगै सन् २००९ पछि पहिलो पटक चार इंग्लिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

क्वाटरफाइनलमा समिकरण पुरा

लिभरपुल क्वाटरफाइनलमा प्रवेश गरेसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा समिकरण पुरा भएको छ । 

जारी लिगमा सर्वाधिक ४ इंग्लिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम आठमा पुग्ने क्लबहरुमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोट्नह्याम र लिभरपुल रहेका छन् । 
त्यस्तै स्पेनबाट बार्सिलोना, इटालीबाट युभेन्ट्स, नेदरल्याण्डबाट आयाक्स र पोर्चुगलबाट पोर्टोले पनि अघिल्लो चरणको यात्रा तय गरिसकेको छ । 

त्यस्तै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड, वायर्न म्युनिख, पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ भने प्रि क्वाटरफाइनलबाटै बाहिरिएको छ । क्वाटरफाइनलको  ‘ड्र’ भोली शुक्रवार हुनेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?