देशभर बम आतंक, देश युद्ध तर्फ फर्केकै हो ?

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृतवको नेकपाले बिहीवार नेपाल बन्दको आह्वान गरेको छ । 

पछिल्ला समय विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यका लगायत देश भर आगजनी र बम विस्फोटका घटनाहरु गराइरहेको छ ।  

त्यस्तै प्रहरीले गत विहीवार कविलवस्तुको शिवराज नगरपालिका – ९ शिवगढीस्थित गाउमा छापामा मार्यो । प्रहरीले विप्लवका भतिज यादव चन्द र विप्लव नेता दुर्गाबहादुर रोकाको घरमा पनि छापा मारेको थियो । 

यसक्रममा प्रहरीको गोली लागेर एक जना घाइते समेत भए । 

विप्लव समूहले सैन्य तालिम दिइरहेको तथा हतियार निर्माण गरिरहेको विशेष सूचनाको आधारमा सुरक्षा निकायले विप्लवको गाउँमा छापा मारेको थियो । 

यसैगरी सरकारले अनैतिक गतिविधि रोक्न गत मंगलवार विप्लवमाथि प्रतिबन्ध लगाएको थियो ।  सरकारको प्रतिबन्धसँगै प्रहरीले विप्लव समूहरुको खोजी तीव्र पारेको छ । उता विप्लव नेता कार्यकर्ता भने भूमिगत भएका छन् । 

सरकारको क्रियाकलाप र विप्लवको गतिविधिले देश ‘जनयुद्ध’ तिर लागेको विभिन्न  राजनीतिक दलका नेताहरुको टिप्पणी छ ।  

देश भर बम आतंक ?

पोखरा : पोखराको सभागृह चोकमा बिहीवार बिहान बम फेला परेको समचार प्राप्त भयो । सभागृह चोकमा रहेको शंकास्पद वस्तु बम पुष्टि भयो । 

हेटौँडा : पूर्वपश्चिम राजमार्गको हेटौंडा औद्योगिक क्षेत्रनजिकै बम फेला पर्यो । निलो प्लाष्टिकमा बेरेको अवस्थामा बम भेटिएको थियो ।

बुटवल : बुटवलको कालिकाचोकमा पनि शंकास्पद वस्तु बम फेला पर्यो । रुपन्देहीस्थित सिद्धार्थ राजमार्गको बुटवल बेलहिया खण्डको कालिकाचोकको ट्राफिक ब्रेकरमाथि शंकास्पद वस्तु फेला परेको हो । योसँगै बुटवल आसपासका क्षेत्रमा त्रास फैलियो ।

प्यूठान : प्यूठान जिल्लाको दुई स्थानमा बम फेला परेको छ । माण्डवी गाउँपालिका ३, देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । सेनाले देविस्थानको शंकास्पद वस्तु डिस्पोज गराएको छ भने भिंगृमा बम डिस्पोजको प्रयास भइरहेको छ । 

रुकुम पूर्व : सिस्ने गाउँपालिका ५, स्थित रुकुमकोट जिल्ला अदालतभन्दा २ सय मिटर अगाडिको घुम्ती छेउमै प्लाष्टिकमा पोको पारेर राखेको अवस्थामा शंकास्पद वस्तु बम फेला पर्यो । पोको भित्रबाट २ वटा तामाको तार पनि बाहिर निकालिएको छ । 

उदयपुर : उदयपुरको कटारी नगरपालिका २ देवीधापस्थित सडकमा बम राखिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दलाई प्रभाव पार्नेका लागि बम राखिएको हुन सक्ने आशंका गरिएको छ । यसैगरी मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ (चुनढुंगा) सप्लाई गर्ने शिवम मल्टिपर्स प्रालिको गेट अगाडि शंकास्पद वस्तु बम फेला परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

कैलाली : कैलालीको बढैपुर जंगल नजिक बुधवार राति बसमा आगजनी गरिएको छ । 

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बासामा पार्किङ गरी राखिएको दुईवटा ट्रकमा आगजनी भएको छ । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीवार आह्वान गरेको नेपाल बन्द सफल पार्न शंकास्पद वस्तु राखेको अनुमान प्रहरीले गरेको छ । बन्दका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजिवन प्रभावित भएको छ । 

नेता कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलवस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलवस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै आमहड्तालसहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ । महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सङघर्षको कार्यक्रम घोषणा गरेका हुन् । 

आखिर को हुन् त ‘विप्लव’ ?

नेत्रविक्रम चन्द ‘विप्लव’ बाबु चित्रबहादुर चन्द र आमा खुसीमाया घर्तीकी कान्छो सन्तानका रुपमा ०२४ साल फागुन ११ गते रोल्पाको केवरीमा जन्मेका हुन् । 

विप्लवका तीन दिदीबहिनी र दुई दाजुभाइ छन् ।

२०३९ सालमा अखिल छैठौंबाट राजनीति शुरू गरेका विप्लवले ४ वर्षमै विप्लव विद्यार्थीको रोल्पा अध्यक्ष भए । 

यसैबीच विसं.२०४५ सालमा विप्लवको परिवार रोल्पाबाट कपिलवस्तु बसाइँ सर्यो । विप्लवले सुभद्रा मल्लसँग बिहे गरे भने उनीहरूका दुई छोरा र एक छोरी छन् ।

तत्कालीन माओवादीले विसं.२०५२ साल फागुन १ बाट जनयुद्ध शुरु गर्दा उनले विद्यार्थी राजनीतिसँगै पार्टीको ललितपुर सेक्रेटरीको जिम्मेवारी लिएका थिए । विप्लवलाई २०५४ सालतिर पार्टीले कर्णाली उपक्षेत्रीय ब्यूरो इन्चार्ज बनाएर खटाएको थियो ।

२०५५ साल भदौमा भएको माओवादीको चौथो विस्तारित बैठकबाट उनी केन्द्रीय सदस्य बनेका थिए भने २०५९ सालमा माओवादीका पोलिटब्यूरो सदस्य बने । २०६१ सालमा रोल्पा, रूकुम आधार इलाकाको ब्यूरो इन्चार्ज समेत बने ।

माओवादी ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विप्लवको सम्बन्ध खटपट शुरु भयो । 

२०६४ साल साउन १८ देखि २२ सम्म काठमाडौंको बालाजुमा भएको पाँचौ विस्तारित बैठकमा विप्लव, मोहन वैद्य, सीपी गजुरेललगायतले नेतृत्वको विरोध गर्दै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारबाट पार्टी फिर्ता हुनुपर्ने अडान राखे । 

यसैगरी २०६९ मा माओवादीबाट अलगिएर मोहन वैद्यको नेतृत्वमा रामबहादुर थापासहितलाई लिएर विप्लवले नयाँ पार्टी गठन गर्यो ।  

यसैगरी विप्लव २०७४ देखि कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागी छैनन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?