‘यु–१६’ क्रिकेट : नेपालले पहिलो खेलमा म्यान्मारको सामना गर्ने

काठमाडौं । एसीसी सोह्र वर्षमुनि ‘यु–१६’ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ । 

थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगतामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएका आयोजक थाइल्याण्डद्वारा सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । खेल तालिकाअनुसार नेपालले आगामी अप्रिल २० तारिखमा म्यानमारको सामना गर्नेछ । 

३५ ओभरमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित म्यान्मार, मलेसिया र आयोजक थाइल्याण्ड छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिंगापुर, भुटान र चीन रहेको छ । 

त्यस्तै नेपालले आफ्नो दोस्रो खेल मलेसियासँग अप्रिल २४ मा खेल्नेछ भने समूहको अन्तिम खेल अप्रिल २५ तारिखमा आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । त्यस्तै नेपाल साविक विजेता पनि हो । अघिल्लो संकरणको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई पराजित गर्दै उपाधिमाथि कब्जा गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?