तराई–मधेशमा भेटघाटमा व्यस्त पूर्वराजा, के भने सीके राउतका बारे ?

काठमाडौं । यति बेला पूर्वराजा ज्ञानेन्द्र शाह तराई–मधेश दौडाहमा छन् । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाले हिजो (बिहीवार) आह्वान गरेको नेपाल बन्दले पूर्वराजा शाहलाई खासै प्रभाव पारेन । 

बुधवार प्रदेश २ को राजधानी जनकपुर पुगेका उनलाई जनकपुरधाममा भव्य स्वागत गरियो । फुलमालासहित जनकपुर एयरपोर्ट पुगेका उनका समर्थकहरुले ‘राजा ल्याऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाउँदै उनलाई स्वागत गरेका थिए । 

जनकपुरधामको सीताशरण होटेलमा बसेका पूर्वराजा शाह बिहीवार दिउँसो सर्लाहीका लागि जानुपर्ने कार्यक्रम थियो । उनले जनकपुरदेखि सर्लाहीसम्मको यात्रामा आफैले गाडी चलाएका समाचार बाहिर आए । 

पूर्वराजा शाहले बा४च ३८०७ नम्बरको हरियो रंगको गाडी आफैँ चलाउँदै सर्लाहीको मलंगवा पुगेका थिए । उनले चलाउको गाडी १०० किलोमिटर प्रति घण्टाको स्पिडमा सडकमा हुँइकाएका थिए । सायद विप्लवले आह्वान गरेको नेपाल बन्दका कारण सडक खालि देखेर होला पूर्वराजा शाहले चलाएको गाडीको स्पिड १०० किलोमिटर प्रति घण्टा रह्यो । 

जनकपुरबाट सर्लाहीको लागि निस्केको महेन्द्रगर पुगेर रोकियो । गाडी चलाइरहेका शाहले महेन्द्रनगरको सडक छेउमा उभिएका समर्थहरुको आगाडी गाडी रोके र बाहिर निस्केर भेट्दै गए । 

त्यस भिडमा पनि त्यहि पहिलेकै नारा घन्कियो । र त्यहाबाट गाडी पुन अगाडी बढ्यो ढल्केबर हुँदै बर्दिबाससम्म पुग्यो । यसक्रममा शाहले प्रतिघण्टा ८० को स्पिडमा गाडी कुदाएका थिए । 

त्यसपछि शाहको गाडी लालबन्दी र नवलपुर हुँदै सर्लाहीको लागि हिँडे । पूर्वराजाले चलाएको गाडी सर्लाहीको नवलपुर पग्यो त्यहाँको दृश्य अलि फरक देखियो । 

किनभने सडक छेउमा उनलाई हेर्न आउनेहरुको भीड थियो । तर, उनको सवारी रोकिएनन् । उनको सवारी सिधैँ सर्लाहीको सदरमुकाम मलंगवातिर लाग्यो । 

उनले सवारी नरोकेपछि उनका समर्थहरुले बोकेको फूल सडकमै फ्याँकेका थिए । यसक्रममा भीडबाट एकाएक आवाज आयो ‘ए मन्त्रीजी खोइ त राजा रोकेको ?’

त्यसपछि मंलगवा पुगेका पूर्वराजा शाहलाई हेर्ने समर्थहरुको भीड निकै ठूलो थियो । अधिकांश नागरिक पूर्वराजालाई नै हेर्न आएका थिए । तर, राजा समर्थकहरुले भने यस भिडलाई राजाप्रतिको ‘क्रेज’ संज्ञा दिएका थिए । 

मंलगवाको भगवतीको दर्शन गर्न गएका पूर्वराजा शाहप्रति त्यहाँ नागरिकको फरक–फकर धारणा राखेका थिए । कसैले राजालाई आएको भनिरहेका थिए भने कतिले राजा नै ठिक हो भनिरहेका थिए । 

मलंगवा पुगेका शाह निकै खुशी देखिएका थिए । सायद मलंगवामा आफ्नो समर्थकहरुको उपस्थिति देखेर हो । 

यसैबीच पूर्वराजा शाहलाई स्वागत गर्न लाइनमा उभिएका समर्थकहरुमध्ये केही पत्रकारहरु पनि उपस्थित  थिए । यसक्रममा पत्रकारहरुले पूर्वराजा शाहसँग प्रश्न सोध्न भ्याए । 

पत्रकारले, हालै सरकारसँग सीके राउतले गरेको ११ बुँदे सहमतिको सन्दर्भमा प्रश्न गर्दा पूर्वराजा शाहले ‘मुसुक्क’ हाँस्दै केही जवाफ नदिइ गाडी चढे । तर, राजतन्त्रका विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘जनताले जे चाहन्छन् ।’ 

त्यस्तै आज शुक्रवार पूर्वराजा शाहले जनकपुरको जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ भने शनिवार सप्तरीको छिन्नमस्ता शक्तिपीठमा पूजापाठ गर्ने कार्यक्रम रहेको उनका  सहयोगीहरुले बताए । पूर्वराजा शाहको तराई–मधेश भ्रमण राजनीतिक नभएर धार्मिक यात्रा भएको उनी निकटका व्यक्तिहरुले बताएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?