विषाक्त रसायन नदीमा फाल्दा दुई हजार मलेसियाली बिरामी

क्वालालमपुर– मलेसियामा ४० टन भन्दा बढी फोहोर नदीमा फालेपछि यसबाट फैलिएको प्रदुशित हावाका कारण कैयौँ बालबालिकासहित झण्डै दुई हजार व्यक्ति विरामी भएका छन् ।

स्थानीय अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार नदीको पानीमा मिसाइएको विषाक्त रसायनबाट निस्केको ग्यास वातावरणमा फैलिँदा मलेसियाको दक्षिणी जोहोर राज्यमा ठूलो सङ्ख्यामा स्थानीय नागरिकहरू विरामी परेका हुन् । हावामा विषाक्त ग्यास फैलिएका कारण बालबालिका तथा वृद्धवृद्धामा यसको प्रभाव बढी परेको बताइएको छ ।

घटनापछि जोहोर राज्यमा रहेका झण्डै दुई सय विद्यालय तथा पुर्व प्राथमिक विद्यालयहरु बन्द गरिएको छ । गत हप्ता फालिएको विषाक्त पदार्थले असर गर्नसक्ने देखिएपछि ती शैक्षिक संस्थाहरु बन्द गरिएको अधिकारीहरुले जनाएका छन् ।

विषाक्त पदार्थले असर गरेका व्यक्तिहरुलाई अरुची हुने, टाउको दुख्ने, बान्ता हुनेलगायतका समस्या देखिएको छ । विरामी भएका मध्ये केहीको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

विषाक्त पदार्थका कारण कुल दुई हजार ३५५ जना विरामी भएकोमा ११३ जना अझै पनि उपचारका लागि अस्पतालमै रहेको उनीहरुको भनाई छ । अहिलेसम्म मृत्यु भने कसैको पनि नभएको पनि अधिकारीहरुले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री महाथिर मोहम्मदले बिहिबार नै विरामीहरुलाई उपचार गराइएको ठाउँमा पुगेर भेट्नुका साथै अवस्थाका बारेमा जानकारी लिएका छन्। उनले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई प्राथमिकता र गम्भीरतापुर्वक ती विरामीहरुले उपचार गर्न आग्रह गर्दै सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराईने आश्वासन पनि दिए ।

औद्योगिक सहर पासिर गुडाङको नदीमा भएको यो समस्या अन्यत्र फैलिन र थप अरुलाई असर पर्न नदिन तत्काल समाधान गर्ने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।

घटनामा दोषी भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको र उनीहरु दोषी ठहरिएमा वातावरण संरक्षण सम्वन्धी ऐन अनुसार पाँच बर्ष सम्म जेल सजाय हुन सक्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?