६ दिन लगातार नाचेर विश्व कीर्तिमानी राखेकी बन्दनाको खुसी

काठमाडौं । केही समय अघिसम्म परिवार, केही आफन्त र साथीहरुमाझ मात्रै सीमित थियो बन्दनाको नृत्य । उनी आफ्ना लागि नाच्थिन् । डान्स उनका लागि मीठो नशा थियो । यस्तो नशा जसमा डुबेर उनले आफैलाई झन् बढी चिनेकी थिइन् । तर, त्यही नशाले परिवार, केही आफन्त र साथीहरुको बीचमा सिमित उनको पहिचानलाई अहिले विश्व सामू ल्याइदिएको छ । बन्दनाको पहिचानले आमाबाबाकी प्यारी छोरी, मिजासिली साथीको घेराबाट बाहिर निस्किएर गिनिज बुक अफ वल्र्ड रेकर्डको यात्रा तय गरिसकेको छ । अहिले उनी विश्वकै सबैभन्दा बढी समयसम्म लगातार नाचेर विश्व कीर्तिमानी राख्ने ‘बन्दना’ भनेर चिरपरिचित छिन् । १ सय २६ घण्टासम्म लगातार चलेको उक्त डान्स म्याराथन अहिलेसम्मकै सबैभन्दा लामो हो ।

हँसिलो अनुहार, मीठो मुस्कान, चञ्चल व्यवहार, सबैसँग छिट्टै घुलमिल हुने बानी, सपनाले भरिएका चम्किला आँखा । यस्तै विशेषताले झल्काउँछ बन्दनाको व्यक्तित्व । सानैदेखि ‘ह्याप्पी–गो–लक्की’ पाराकी बन्दना आफू गन्तव्यमा भन्दा पनि यात्रामा विश्वास राख्ने व्यक्ति भएको बताउँछिन् ।

‘विश्व कीर्तिमानी कायम गर्नु भन्दा पनि त्यहाँसम्म पुग्नलाई पार गरेको यात्राले मलाई झनै निखारेको छ’, मुस्कुराउँदै उनले भनेको यस वाक्यले पनि यही प्रष्ट्याउँछ ।

रेकर्ड ब्रेक गरेको त्यो क्षण

त्यसो त विश्व कीर्तिमानी राख्नु बन्दनाको सपना बनिसकेको थियो जसलाई पूरा गर्न उनले आफ्ना कैयौं दिनको भोक बिर्सेकी थिइन् र कैयौं रातको निन्द्रा । यद्यपि, १ सय २६ घण्टा नाचिसकेपछि जब रेकर्ड ब्रेक भयो भन्दै वातावरण उल्लासमय भयो, बन्दना एकाएक ओइलाइन् । मुर्झाइन् । उनलाई ‘जीत’को रौनकले छोएन । अविर, माला लगाइदिएर सबैजना खुसी हुँदा पनि आफू रमाउनै नसकेको त्यो क्षण स्मरण गर्दा अझै पनि अचम्म लाग्ने उनी बताउँछिन् ।  

‘आफ्नो विनिङ मुमेन्ट नै मिस गरें मैले, बन्दना अगाडि थप्छिन्,‘त्यसपछि बेहोस् भएछु, होस् आउँदा घरमा थिएँ ।’

बन्दनाले आफ्नो ‘विनिङ मुमेन्ट’ लाई मनाउन नसके पनि उनका बाबाममीले भने छोरीको उपलब्धिलाई खुब रमाउँदै मनाए । अब आफ्नी छोरी ‘आफ्नी’मात्रै नभएर नेपालकै छोरी भएकोमा अत्यन्तै गर्व महसुस हुने उनीहरु बताउँछन् ।

‘बाबुआमाको खुसी भनेकै छोराछोरीको सफलता न हो,’ दङ्ग पर्दै उनका पिता राम नेपालले भने ।

‘डान्स, अभिनय र समाजसेवा मेरो भावी योजना’

५ वर्षको कलिलो उमेरदेखि नै डान्स गर्न शुरु गरेकी बन्दना म्यूजिक सुन्नासाथ आफै नाँच्न थाल्छिन् ।

कलेजको ल्याब होस् या घरको छत उनलाई सबै डान्सिङ स्टेज जस्तै लाग्छ ।

पर्फेक्ट प्लेस, पर्फेक्ट अकेजन, पर्फेक्ट ड्रेस, पर्फेक्ट अडियन्स यी सबै बन्दनाका प्राथमिकता भन्दा बाहिरका कुरा हुन् । 

उनको यो रुचिलाई परिवारले पनि सधैं सपोर्ट गरेको छ । छोरीको सपनालाई साकार गर्न उनका बाबा र आमा पनि उत्तिकै तत्पर छन् । उनीहरुले बन्दनाकै नाममा सामाजिक संस्था खोलेर ग्रामीण क्षेत्रमा विद्यालय स्थापना गर्ने योजना समेत बनाएका छन् ।

बन्दना अहिले चेल्सी इन्टरनेशनल स्कुलको कक्षा १२ मा अध्ययन गर्छिन् । डान्सकै सिलसिलामा देशविदेशमा कार्यक्रम भइरहने भएकाले पढाइमा केही डिस्टर्व भएतापनि आफूले सकेसम्म पढाइको लागि समय मिलाउने उनी बताउँछिन् । ‘सबैथोक आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण छ,’ बन्दना भन्छिन्, ‘तर, यतिवेला पढाइ मेरो प्राथमिकता हो ।’

प्रतिभा हुनुको खुसी एउटा, त्यसलाई चिनेर प्रस्तुत गर्न सक्नुको खुसी अर्को अनि त्यही प्रतिभा मार्फत् आफ्नो देशलाई विश्व सामू चिनाउनुको खुसी वेग्लै । यी तीनैवटा खुसी संसारका थोरै व्यक्तिले मात्रै अनुभुती गर्न पाउँछन् । त्यही भाग्यमानी व्यक्तिमा पर्छिन् बन्दना नेपाल । 

भन्छिन्, ‘सफलता नै खुसी हो, आफूले सोचेको, चाहेको कुरा पूरा हुँदा को खुसी हुन्न र?’ त्यसो त उनका लागि यो सफलताको एउटा खुड्किला मात्र हो । आगामी दिनमा नृत्यलाई निरन्तरता दिँदै अभिनय क्षेत्रमा लाग्ने र दुवै क्षेत्रमार्फत् सामाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको लक्ष्य छ ।

डान्सलाई समाजको चित्र देखाउने माध्यम मान्ने बन्दनाले डान्स र अभिनय सँगसँगै आफ्नो नाममा स्थापना गरिएको ‘बन्दना फाउन्डेसन’ नामक संस्थामार्फत समाजमा सेवा गर्ने योजनासमेत बुनेकी छिन् । 

       

                     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?