पत्नी सीताको उपचारका लागि प्रचण्ड आज अमेरिका जाँदै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका जाने भएका छन् । आइतवार साँझ ५ बजे पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड अमेरिका जान लागेका हुन् । 

प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जानेछन् । सीता पार्किन्सन रोगले पीडित छिन् ।

त्यस्तै प्रचण्डले पत्नी सीताको उपचारका लागि दुई महिनाअघि नै अमेरिका लैजाने तयारी गरेका थिए । तर, भेनेजुएला प्रकरणमा आलोचित बनेका प्रचण्डको अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए । 

भेनेजुएला प्रकरणमा आलोचित खेपेका प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले भेटेर अमेरिका जान सहजीकरण गरिदिएका थिए ।

यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । तर, उनको स्वास्थ्यमा खासै सुधार नभएको छोरी गंगाले बताइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?