राष्ट्रिय सुरक्षा परिषदबारे काँग्रेसले प्रश्न उठायो

काठमाडौं– नेपाली काँग्रेसले राष्ट्रिय सुरक्षा परिषद विधेयक सरकारले संविधान विपरित ल्याएको आरोप लगाएको छ । काँग्रेसले परिषद्लाई प्रधानमन्त्रीको लाचार छाया बनाउने प्रयास भएको आरोप पनि  लगाएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ले केही गम्भीर प्रश्न जन्माएको उल्लेख गरेका छन् ।
 ‘राष्ट्रिय सुरक्षा परिषद्लाई संविधानले प्रत्याभूत गरेको अधिकार हनन् गरि परिषद्लाई प्रधानमन्त्रीको लाचार छाँया बनाउने प्रस्ताव गलत र गम्भीर त छ नै शक्तिको अधिकतम विन्यासको लोकतान्त्रिक मान्यता भन्दा विलकुलै विपरीत पनि छ ।’

संविधानको धारा २६७ को उपधारा ६ मा सुरक्षा परिषद्को सिफारिशमा मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिबाट सेना परिचालनको घोषणा हुने उल्लेख भएपनि प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न मिल्ने गरी विधेयक प्रस्तावित गरिनु असंवैधानिक र आपत्तिजनक भएको काँग्रेसको ठहर छ ।

मुलुकमा उत्पन्न हुने सबैखाले समस्याको हल संविधानको परिधिभित्रबाट खोज्ने कर्तव्य राज्यको भएको औंल्याउँदै काँग्रेसले  कुनै निश्चित विषयलाई कारणका रुपमा अघि सारेर राज्यले नै संविधानको प्रष्ट प्रावधान, मर्म र भावनाको बर्खिलाफ हुने गरी विधेयक प्रस्ताव गर्नु अत्यन्तै गम्भीर विषय भएको उल्लेख गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?