भूकम्पबाट क्षति भएका सशस्त्र प्रहरीका ९२ प्रतिशत संरचनाको पुनर्निर्माण सम्पन्न

काठमाडौं-सशस्त्र प्रहरी बल, नेपालले भूकम्पपछि क्षतिग्रस्त भएका आफ्ना संरचनाहरुको ९२ प्रतिशत भन्दा बढी पुनर्निर्माण सम्पन्न गरेको छ । बाँकी अन्तिम चरणमा छन् ।
आइतबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुननिर्माण सम्बन्धी आर्थिक बर्ष २०७५/०७६ को प्रगति प्रस्तुत गर्दै बलका बरिष्ठ उपरीक्षक ई. सन्दीप थापाले पुनर्निर्माण कार्य संचालन भएका २८ मध्ये २६ वटाको सम्पूर्ण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।
पुनर्निर्माण सम्पन्न भएका संरचनाहरुमा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयलगायत विभिन्न बाहिनी, गण तथा गुल्मका हेडक्र्वाटर रहेका छन् ।
थापाका अनुसार पुनर्निर्माण सम्पन्न हुन आँटेका दुई संरचनामध्ये बाँकी नुवाकोट ककनीस्थित सशस्त्र प्रहरी बल यु.एन. शान्ति स्थापना तालिम शिक्षालयको भवनको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यसैगरी पोखरास्थित सशस्त्र प्रहरी बल नेपाल नंं.४ मुक्तिनाथा बाहिनी मुख्यालय पोखराको फिनिसिङ कार्य भैरहेको छ । यी संरचनाको आगामी बैशाखभित्र पुनर्निर्माण कार्य सम्पन्न हुने थापाले जानकारी दिनु भयो ।
बलको काठमाडौं उपत्यकाभित्र निलबराहीस्थित नं. १८ गणको हेर्डक्वार्टरमा रहेका २ वटा बहुतले ब्यारेक तथा प्रधान कार्यालयको पेन्टागनको प्रबलीकरण कार्यका साथै बंगलामुखीस्थित नं १९ गणको हेडक्र्वाटरको भवन पुनर्निर्माण गर्न करिब ६ करोड ५० लाख थप बजेट आवश्यक रहेको पनि थापाले बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको उद्दार तथा पुनस्र्थापनामा सशस्त्र प्रहरी बलले पु¥याएको योगदानको स्मरण गर्दै आगामी दिनमा आउनसक्ने विपद्पछिको उद्दार तथा पुनस्र्थापनामा महत्वपूर्ण भूमिका खेल्नुपर्ने संस्थाका भौतिक संरचनाहरुको पुनर्निर्माणलाई पूर्णता दिन प्राधिकरणले यथासंभव सहयोग गर्ने बताउनु भयो ।
सशस्त्र प्रहरी बलका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हालसम्म ४० करोड ३६ लाख रुपैयाँ निकासा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?