काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमवार) बस्दैछ । 

पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बालाइएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार बिहान ११ बजे बस्न लागेको हो । 

बैठकमा उक्त विषयबाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने पार्टी कार्यालयले जनाएको छ । 

यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन र निर्वाचन समिति गठनका विषयमा सहमति हुन नसक्दा बैठक बस्दै नबसी स्थगित गरिएको थियो । 

पार्टी कार्यालयले भने सहमतिका लागि थप छलफल आवश्यक रहेको भन्दै सो बैठक स्थगन गरिएको जनाएको थियो । 

आज पनि केन्द्रीय समिति बैठक बस्नुअघि दुवै पक्षबीच पदाधिकारीस्तरमा समिति गठन सम्बन्धमा सहमतिको प्रयास गरिने बताइएको छ । संयोजकसहित पाँच सदस्य रहने दुवै समितिलाई काङ्ग्रेसमा महत्वको रूपमा लिइन्छ । समिति गठनमा दुवै पक्षले आफू अनुकूल खोज्दा सहमतिमा ढिलाइ भएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?