कांग्रेसको केन्द्रीय समिति बैठक शुरु हुनु अघि नेविसंघको धर्ना, तदर्थ समिति बनाउनुपर्ने माग

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले तदर्थ समिति गठनको माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन्।

पार्टीभित्र अनुशासन र निर्वाचन समिति गठन गर्नेबारे छलफल गर्न बैठकमा पार्टी कार्यालयमा शीर्ष नेताहरू आउने क्रम बढेपछि नेविसंघले धर्ना दिएको हो ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेविसंघ नेता, कार्यकर्ताले १२ औं महाधिवेशन गर्नका लागि नेविसंघको तदर्थ समिति बनाउनुपर्ने माग गरेका हुन्।

केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेता छुट्टै बैठक बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका थिए । सहमतिबाट नै अनुशासन तथा निर्वाचन समिति गठन गर्नेमा सभापति शेरबहादुर देउवा छन्। उनले आइतबार नेताहरूलाई निवासमै बोलाएर पनि छलफल गरेका थिए।

नेविसंघको विधान कार्यान्वयन गर्नुपर्ने, तदर्थ समिति गठनमा ३२ वर्षे उमेर हद कायम राख्नुपर्नेलगायत माग राखेर महाधिवेशनको वातावरण बनाउन दबाब दिन धर्ना गरिएको नेविसंघका कार्यकर्ताले जनएका छन् । 

आफ्नो कार्यकाल सकेर थपिएको समयभित्र पनि १२ औं  महाधिवेशन गर्न नसक्दा सभापति नैनसिंह महरले राजीनामा दिएका थिए । अहिले  नेविसंघ नेतृत्वविहीन छ। 

 तस्वीर फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?