भूउपयोग र खेलकुद विधेयक विधायन समितिमा

काठमाडौं ।  राष्ट्रियसभा बैठकले दुई विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । 

बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूउपयोग विधेयक, २०७५ र राष्ट्रिय खेलकुद  विकास विधेयक, २०७५ लाई सर्वसम्मतिका साथ पारित गर्दै समितिमा पठाएको हो । 

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूउपयोग विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव पेश  गरेको थियो ।

त्यसैगरी युवा तथा खेलकुदमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेको थियो ।

दुवै प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो । यसअघि बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ टेबुल गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?