नेदरल्यान्ड्स प्रहरीद्वारा ट्रामका शंकास्पद आक्रमणकारी पक्राउ

एजेन्सी । नेदरल्यान्ड्स प्रहरीले उट्रेख्ट शहरमा रोकिराखेको ट्राममा अन्धाधुन्ध गोली चलाएर तीन जनाको हत्या गरेको आशंकामा एक जना मुख्य आक्रमणकारीलाई पक्राउ गरेको छ । 

टर्की मुलका ती अधवैंशे व्यक्तिले आतङ्कवादी आक्रमण गरेको आशंकामा छानबिन थालिएको प्रहरीको भनाई छ । उक्त आक्रमणमा अरु पाँच जना गम्भीर घाइते भएका थिए । 

प्रहरीले टर्की मुलका ३७ वर्षीय गोकमिन टानिसलाई व्यापक खोजतलास पछि पक्राउ गरेको हो । प्रहरीले शंकास्पद टानिसको फोटो सार्वजनिक गरी पक्राउका लागि सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको थियो । 

हातहतियारले सुुसज्जित प्रहरीले फरार रहेका टानिसलाई एउटा घरमाबाट पक्राउ गर्नुअघि उट्रेख्ट शहरका मस्जिद र विद्यालयहरु बन्द गरिएका थिए । उट्रेख्ट नेदरल्यान्ड्सको चौथो ठूलो शहर हो । 

नेदरल्यान्ड्सका अधिकारीहरुले आक्रमणको वास्तविक कारण बारे अनुसन्धान गरिरहेको बताएका छन् । प्रधानमन्त्री मार्क रुटले पारिवारिक विवाद समेत अरु कारणबारे पनि अनुसन्धान भइरहेको जानकारी दिए । 

नगरका प्रमुख जाँ भान जानेनले यो घटना “उट्रेख्टका लागि कालो दिन” का रुपमा रहेको बताउँदै घटनाको प्रारम्भिक अनुसन्धानले आक्रमणकारीले आतङ्कवादी कार्य गरेको देखिएको जानकारी दिए । 

उट्रेख्टको २४ ओक्टोबरप्लाइन नजिक रोकिराखेको ट्राममा एकाएक गोली चलेको आवाज आएको थियो । मानिसहरु ट्रामबाट भागदौड गरेसँगै तत्कालै प्रहरी घटनास्थल पुगेको थियो । आक्रमणकारीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो भने अरु केही घाइते भएका थिए । 

उट्रेख्ट आक्रमणसँगै विमानस्थल र अरु सरकारी कार्यालयहरुमा उच्च सतर्कता अपनाइएको छ । न्यूजील्यान्डको मस्जिदमा भएको भिषण आक्रमणमा ५० जनाको मृत्यु भएको केही दिनभित्रै उट्रेख्टमा गोली चलेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?