होलीमा राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपतिद्वारा शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गदिएकी छिन् । 

आज फागु पूर्णिमा (होली)का अवसरमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा जारी शुभकामना सन्देशमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै यस पर्वले सबैमा नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरिएको छ । 

सन्देशमा नेपालको मौलिक पहिचान स्थापित गराउँदै राष्ट्रपतिले सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने बताएकी छिन् । 

सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा खुशी र हर्षोल्लासपूर्वक रङ्गमा रमाएर होली पर्व मनाउने प्रचलन रहेको सन्देशमा उल्लेख गरिएको छ । 

यसैबीच प्रधानमन्त्री ओली आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् । फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्लेख गरेका छन् । 

‘देशलाई द्रूतगतिमा आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर गराइँदै गरिएको आजको परिप्रेक्ष्यमा हामी सम्पूर्ण नेपाली अझ बढी एकताबद्ध हुन जरुरी छ,’ प्रधानमन्त्रीओलीको सन्देशमा उल्लेख छ । ‘नेपालभरि र बाहिर पनि खुशियाली प्रकट गर्दै होली अर्थात् पानी र रङ्ग खेलेर मनाइने यस पर्वका अवसरमा म फेरि एक पटक हाम्रो राष्ट्रिय सङ्कल्पको स्मरण गर्न चाहन्छु,’ उनले सन्देशमा उल्लेख गरेका छन् । 

यसैरगी उपराष्ट्रपति पुनले होली पर्वका अवसरमा आज उनले एक शुभकामना सन्देश दिँदै काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भेगमा फागु पूर्णिमाको दिन र तराई–मधेशमा भोलिपल्ट भव्यरुपमा मनाइने यस पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् । 

उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस पर्वले सप्तरङ्गी जस्तै रङ्गीन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास लिएको छु ।’ सप्तरङ्गी रङ्ग जस्तै समृद्धिका विभिन्न आधारको तीव्र विकासका माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई सार्थक बनाउन सबै नेपालीलाई प्रेरणा दिने विश्वाससमेत आफूले लिएको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?