कांग्रेस नेता पौडेलको तराई–मधेश भ्रमण, यस्तो छ ‘प्लान’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तराई–मधेशका विभिन्न जिल्लाहरुको भ्रमणमा निस्कने भएका छन् । 

यसअघि पश्चिमका जिल्लाको एकसाता लामो भ्रमण सकेलगत्तै नेता पौडेल आज (शुक्रवार)बाट पाँच दिने तराई–मधेश भ्रमण निस्केका हुन् । 

पौडेल सिन्धुली, सर्लाही, महोत्तरी र धनुषालगायतका विभिन्न जिल्लामा कांग्रेसका कार्यक्रममा सहभागि हुने कार्यक्रम तय भएको छ । 

पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारीका अनुसार पौडेलले चैतको ८ देखि १३ गतेसम्म पूर्वका जिल्ला भ्रमणमा निस्किएका हुन् । 

तराई मधेशको पहिलो दिन आज नेता पौडेलले नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला प्रतिनिधिहरूको कार्यक्रमलाई सम्बोधन गर्ने छन् । 

त्यस्तै भोलि (शनिवार) सिन्धुली जिल्लाको मरिन गाउँपालिकाको कपिलकोटमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने चैत १० गते आइतवार नेता पौडेल सर्लाहीको सदरमुकाम मलंगवा जानेछन् । 

उनले मलंगवामा कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले आयोजना गर्ने आमसभामा सहभागी हुनुका साथै आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै सोमवार (चैत ११ गते)  सर्लाही जिल्लामा हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन समेत गर्ने छन् । 

उनले सोही दिन महोत्तरीको जलेश्वरमा कार्यकर्ता भेलालाई समेत सम्बोधन गर्ने छन् । 

यसैगरी मंगलवाल (चैत १२ गते) नेता पौडेल प्रदेश २ को राजधानी जनपुरधाम पुग्ने छन् । नेता पौडेल जनकपुरधाममा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुने छन् । बुधवार (चैत १३ गते) कांग्रेस जिल्ला कार्यसमिति धनुषाको आयोजनामा सहिदनगर नगरपालिकाको यदुकुवामा हुने आमसभालाई सम्बोधन र शहीद रामसेवक यादवको शालिक अनावरण कार्यक्रम रहेको स्वकिय सचिव अधिकारीले जानकारी दिए । 

यसैबीच केहीदिन अघिमात्रै पूर्वराजा ज्ञानेन्द्र शाह, कांग्रेस नेता गगन थापा र सरकारसँग ११ बुँदे सहमति गरेका सीके राउत जनकपुरधाम पुगेका थिए । पूर्वराजा शाह र कांग्रेस नेता थापा काठमाडौं फर्किसके भने सीके राउत जनकपुरधामै छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?