एसईई परीक्षा : नायिकादेखि सांसदसम्म

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (आइतवार)देखि शुरु भएको छ । आज विहान ८ बजेदेखि सातै प्रदेशमा एसईई परीक्षा शुरु भएको हो । 

यस वर्षपनि केही फरक अनुहारहरुले एसईई परीक्षा दिएका छन् । नेकपा सांसद शान्ता चौधरी, ६७ वर्षीया युगमाया कार्की र नायिका करिश्मा मानन्धरलगायत १५ दिने शिशु च्यापेर सुशिला भण्डारी एसईई परीक्षामा सहभागी छन् । 

सांसद चौधरी महेन्द्र मावि तुल्सीपुर, कार्की काठमाडौंको सिद्धेश्वर मावि केन्द्र, मानन्धर विजय स्मारक मावि डिल्लीबजार र भण्डारी सेन्टर तुल्सीपुर केन्द्रबाट एसईई परीक्षा दिइरहेकी छिन् ।

यसैगरी लमजुङको बेंसीसहर बजारस्थित जनविकास मावि केन्द्रबाट चितवनको रत्ननगर नगरपालिकास्थित श्रीराम बैद्धिक संस्कृत मंगलम गुरुकुलका परीक्षार्थी दरेश पौडेलले परीक्षा दिएका छन् ।

बेंसीसहर नगरपालिका ७ का पौडेलका बुवाको केही दिनअघि निधन भएपछि उनलाई जनविकासबाटै परीक्षा दिने व्यवस्था गरिएको शिक्षा समन्वय इकाईका प्रमुख नारायण रेग्मीले बताए । पौडेलले पहिलो दिन आइतवार अनिवार्य संस्कृति भाषाको परीक्षा दिएका छन् ।

यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । प्रदेश नम्बर ३ बाट १ लाख ६ सय २ परीक्षार्थी सहभागी भएका छन् भने कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परिक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

एक हजार ९ सय ६९ केन्द्राध्यक्ष, ३ हजार १ सय ६७ सह–केन्द्राध्यक्ष र २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।


परीक्षा आगामी चैत २१ गतेसम्म सञ्चालन हुने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?