पर्यटक बढाउन पदयात्रा

काठमाडौं । पर्यटकीय सम्भावना बोकेको बागमती नदीको उद्गमस्थल वाग्द्वारको प्रचार तथा प्रवद्र्धनमा यस वर्षदेखि विशेष चासो देखाउन थालिएको छ । 

धार्मिक महत्वसमेत रहेको यस क्षेत्र पछिल्लो समय ओझेलमा पर्दै गएकाले गोकर्णेश्वर नगरपालिका–९ ले वागमती नदीको मुहानसम्म पर्यटकीय पदयात्रा सञ्चालन गरेको छ । 

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने वाग्द्वार काठमाडौं उपत्यकाको उत्तरतर्फ शिवपुरी डाँडामा अवस्थित छ । यस स्थल धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । यहाँ हरेक वर्षको पहिलो दिन वैशाख १ गते ठूलो मेला लाग्ने गर्दछ । 

वैशाख १ गते तीर्थयात्री वाग्द्वारमा स्नान गरी बागद्वारको जल लिएर टोखा नगरपालिकाको सपनतीर्थमा जल चढाउँदा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । हरेक वर्ष हजारौं तीर्थयात्री वाग्द्वारमा स्नान गर्न जाने गरे पनि पदयात्राको बारेमा उनीहरु जानकार देखिँदैनन् । 

धार्मिक एवं प्राकृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने हेतुले गत शनिवार पदयात्रा कार्यक्रम गरिएको थियो । काठमाडौंको आरुबारीदेखि शुरु भएको पदयात्रा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको शिवपुरी वाग्द्वारसम्म पुगेको थियो । 

पदयात्रामा समाजका विभिन्न क्षेत्रका करीब ७० जनाको सहभागिता रहेको थियो । पदयात्रा कार्यक्रमको शुभारम्भ गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालले गरेको थियो । 

प्राकृतिक तथा वातावरण संरक्षण गरे मात्र स्वास्थ्य रहन सकिने बताउँदै गोकर्णेश्वर नगरपालिका–९ का वडाध्यक्ष राजीव थापाले नगरपालिकाभित्र पर्यटकीय गन्तव्यको प्रचूर सम्भावना रहेकाले पदयात्राबाट त्यस क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको बताए । 

वडाध्यक्ष थापाले पदयात्रामा सहभागी हुनेले प्राकृतिक वातावरणलाई नजीकबाट नियाल्ने मौका पाउने र स्वास्थ्यका लागि पनि राम्रो कसरत हुने बताए । उनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सङ्घीय र प्रदेश सरकारको पनि ध्यानाकर्षण गरिनेछ भने । उनले यस क्षेत्रलाई ठूलो पर्यटकीय क्षेत्रका रुपमा विकास गराउन पदयात्राको आयोजना गरिएको प्रस्ट्याए ।  

वडा नं ९ को कार्यालय आरुबारीबाट शुरु भएको पदयात्रा जगडोल, तारेभिर र नाङ्की गुम्बा हुँदै वाग्द्वारसम्म पुगेको थियो । पदयात्रामा सहभागीले वागमती नदीको उद्गमस्थल वाग्द्वारका बारेमा जानकारी लिनुका साथै मुहान क्षेत्रको सरसफाइ गरेको थियो । 

राजधानीमै यति मनमोहक पर्यटकीय स्थल रहेकाले यसको प्रवद्र्धन गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावना रहेको पदयात्राका सहभागीहरुको भनाइ छ । पदयात्रीले महीनाको एक पटक मात्र पर्यटकीय पदयात्रा गर्ने हो भने पनि मोटोपन, रक्तचाप र मधुमेहजस्ता रोगविरुद्ध लड्नसक्ने क्षमता विकास हुने विश्वास राखेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?