नेकपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आज बस्दैछ । 

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको तेस्रो अधिवेशन हिजो (आइतवार)बाट सकिए लगत्तै नेकपा संसदीय दलको बैठक बस्न लागेको हो । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन परिषरमा बिहान ११ बजे बस्नलागेको हो ।

संसदको चौंथो अर्थात् बजेट अधिवेशनको शुरुवात मै सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि नेकपाले त्यसमा समावेश हुने कार्यक्रम र अवलम्बन गर्नुपर्ने वार्षिक नीति सम्बन्धमा छलफल थाल्न लागेको हो । 

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने भएपछि सो अगावै सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदबाट पारित हुनु पर्नेछ । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई सोही अनुसारको तयारीमा जुट्न निर्देशन दिने कार्यक्रम तय भएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?