निर्मला बलात्कारपछि हत्या प्रकरण : डिएसपी अंगुर जिसी अदालत उपस्थित

कञ्चनपुर । कञ्चनपुरका तत्कालिन डिएसपी अंगुर जिसी अदालतमा उपस्थित भएका छन् । 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा अत्यावश्यक प्रमाणहरु नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन डिएसपी जिसी अदालतमा उपस्थित भएका हुन् । 

उनी सोमवार बिहान ११ बजे कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् । जिसीको बयान लिने तयारी भइरहेको अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए । 

निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी दिल्लीराज विष्ट र डिएसपी जिसीलाई पक्राउ गर्न जिल्ला अदालतले गत फागुन २६ मा ३५ दिने म्याद जारी गरेको थियो । सोही कसुरमा मुद्दा लागेका अन्य छ जनालाई भने धरौटीमा छाडेको थियो ।

यसैबीच गत मंगलवार जिल्ला अदालत कञ्चनपुर उपस्थित भएका तत्कालिन एसपी विष्टलाई आइतवार जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उनलाई न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यातना र कसुरमा ६ लाख र प्रमाण नष्टमा साढे ४ लाख गरीजम्मा साढे १० लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

यसबीच सरकारले पटक–पटक अभियुक्त भन्दै फरक–फरक अनुहार सार्वजनिक गरेतापनि अपराधीलाई भने कानूनको कठघरामा ल्याउन सिंगो प्रशासन असफल भएको छ । 

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट उखुबारीमा भेटिएको थियो । 

निर्मलाको बलात्कारपछि हत्या भएको ९ महिना पूरा भएर १० औँ महिनामा लागेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?