मन्त्री यादवले गरे डेढ दशकदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखानाको स्थलगत अनुगमन

पर्सा ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको वीरगञ्ज चिनी कारखानाको आज स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिए ।

सो अवसरमा उहाँले उपयोगविहीन अस्थामा रहेका कारखानाका उपकरणहरु जीर्ण हुँदै गएकोेप्रति चिन्ता व्यक्त गर्दै यसको सरसफाइमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री यादवले पर्सा जिल्ला अदालत र उच्च अदालतको अस्थायी इजलासका लागि भवनलगायतका पूर्वाधार एकै स्थानमा निर्माण गर्दा न्यायसम्पादन प्रभावकारी हुने भएकाले त्यसकै लागि आफूसहित सर्वोच्च अदालतका न्यायाधीशकोे टोली जग्गा हेर्न आएको बताए। अहिले कारखाना परिसरमा उच्च अदालत जनकपुरकोे अस्थायी इजलास सञ्चालनमा रहेका छन् ।

चिनी कारखानाको स्वामित्व रहेका जग्गामध्ये कित्ता नं ११३१ मा रहेको दश बिघा जग्गा अदालतको पूर्वाधार निर्माणका लागि उपयुक्त हुने नहुनेबारे काठमाडौँ फर्केपछि यस विषयमा थप छलफल गर्ने उनले जानकारी दिए ।

टोलीमा मन्त्री यादवसहित सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, उच्च अदालत अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश डिल्लीराज आचार्यलगायत रहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?