पार्टी हित विपरीत गतिविधि गर्ने सदस्यविरुद्ध उजुरी दिन कांग्रेस अनुशासन समितिको आग्रह

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले उजुरी दिन आग्रह गरेको छ ।

समितिले पार्टी हित विपरीत गतिविधि गर्ने पार्टी सदस्यविरुद्ध चैत मशान्तभित्र उजुरी दिन आग्रह गरेको हो । मंगलबार बसेको समिति बैठकले २०७५ चैत मसान्तभित्र आएका उजुरीमाथि मात्र छानबिन हुने निर्णय गरेको हो ।

बैठकको निर्णयमा भनिएको छ , ‘पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरीतका कुनै पनि काम, कारवाही र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाही र गतिविधिका विरुद्धमा प्रमाणसहित २०७५ चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समितिसमक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानविन गरी निर्णय गर्ने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ ।'

समितिले पार्टीका कुनै नेता, कार्यकर्ताले लिखित रुपमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमार्फत पार्टी हित विपरीतका काम, कारबाही र गतिविधि प्रकट गरेमा पार्टी विधानअनुसार कारवाही गर्ने आफ्नो क्षेत्राधिकार रहने समेत जनाकारी दिएको छ । 

चैत ४ बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले भीष्मराज आङ्देम्बेको नेतृत्वमा काङ्ग्रेसको विधानको धारा ३४(७) अनुसार अनुशासन समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?