बेझाड । पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेको सिसिङ्गाका कुखुरामा रानीखेत रोग फैलिएको छ । गाउँमा पालिएका कुखुरा रानीखेत रोगले मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।
खोरै रित्तिने गरी कुखुरा एकाएक मर्न थालेको कृषक विजय सारुले बताए । “गाउँका कृषकको आयस्रोत नै कुखुरा बाख्रापालन व्यवसाय हो, एक्कासी यसरी रोग लागेर उपचार गर्न नपाउँदै कुखुरा मर्न थाल्यो” उनले भने ।
यहाँका कृषकले कुखुरा पालेर छोराछोरीको पढाइ खर्च, साँझ बिहानको घरखर्च चलाउँदै आएका छन् । कुखुरा झोक्राउन थालेपछि काटेर खाने र केही कुखुरा जथाभावी खुल्ला ठाउँमा फालेका कारण गाउँभरी नै रानीखेत रोगको संक्रमण फैलिएको पशु स्वास्थ्य प्राविधिक मनवीर नेपालीले बताए ।
अहिले बाँकी रहेका कुखुरामा रानीखेत विरुद्धको एन्टिवायोटिक नामक भ्याक्सिन दिइरहेको उनले बताए । सिसिङ्गा गाउँभरी नै पालिएका कुखुरामा रानीखेत रोगको संक्रमण फैलिएपछि पशु शाखा निस्दीले वडाभरी नै एन्टिबायोटिक भ्याक्सिङ दिने तयारी गरिरहेको शाखा प्रमुख ओमबहादुर मश्राङ्गी बताए ।
कुखुरा झोक्राउने, दानापानी नखाने, सिर रातो हुने, खुट्टामा रातो र निलो देखिने, हरियो रङ्गको दिशा गर्ने, अण्डा पार्न विस्तारै कम गर्दै जाने, ज्वरो आउने लगायतका लक्षण रानीखेत रोग लागेका कुखुरामा देखापर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया