फेसबुकमा ग्रुप च्याट बनाएर चिट चोरी, सप्तरीका परीक्षा केन्द्रहरुमा चरम अनियमितता

राजविराज । यही चैत १० गतेबाट शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत सप्तरी जिल्लामा भने चिट चोर्ने क्रियाकलाप रोकिएको छैन । 

बढ्दो सामाजिक सञ्जाल र प्रविधिका कारणले चिट चोर्ने क्रियाकतापमा पनि परिवर्तन आएको छ । 

सप्तरी जिल्लाका विभिन्न परीक्षा केन्द्रमा विद्यार्थीहरुले फेसबुकमा ग्रुप च्याट बनाई चिट चोर्न गरेको पाइएको छ । 

बुधवार एसईई परीक्षा अन्तर्गत अनिवार्य गणित विषयको परीक्षा सञ्चालन भइरहेको बेला अनुगमनका लागि पुगेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित विभिन्न सरकारी अधिकारीको टोलीले परीक्षा केन्द्रहरुमा पुगेका थिए । यस क्रममा परीक्षा केन्द्रहरुमा अनियमितता भएको पाइएको छ । 

बुधवार सप्तरीमा एक केन्द्राध्यष निकालिएका छन् भने चारजना नक्कली कार्यालय सहयोगी र आठ विद्यार्थी पक्राउ गरिएका छन् ।

एसईई परीक्षाको तेश्रो दिन बुधवार अनिवार्य गणित विषयको परीक्षामा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट आठजना विद्यार्थीलाई चिट चोराउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । 

जिल्लाको हनुमाननगर र रायपुरपरीक्षा केन्द्रवाट ती विद्यार्थीलाई परीक्षा मर्यादा विपरित कार्य गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रजिअ पौडेलले जानकारी दिए । पक्राउ गरिएका विद्यार्थीहरूको बुधवारको परीक्षा रद्द भएको छ । पक्राउ गरिएका विद्यार्थीहरूलाई दिउँसो कागज गराई छोडिएको उनले बताए । 

यसैगरी सप्तरीको बनरझुलास्थित ककिझौ माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्षसहित पाँच जनालाई बुधवार हटाई कानूनी कारबाही शुरु गरिएको छ ।

उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामअबतार गुप्तामाथि कानूनी कारबाही शुरु गरिएको छ भने नक्कली कार्यालय सहयोगी रामन्दरप्रसाद चौधरी, रामानन्द चौधरी, लगेन्द्रप्रसाद चौधरी र देवनारायण मण्डललाई नियन्त्रणमा लिइएको प्रजिअ पौडेलले जानकारी दिए । 

कार्यालय सहयोगी गुप्तासितको मिलेमतोमा नक्कली कार्यालय सहयोगी बनेर परीक्षा केन्द्र भित्र प्रवेश पाएका चारै जनाले विद्यार्थीहरूलाई ग्रुप च्याजमार्फत चिट चोराउने कार्य गरिरहेको आरोप छ । अनुगमन टोलीले रायपुर, बसबिटी, पकरी, हनुमाननगरलगायत विभिन्न परीक्षा केन्द्रहरूबाट २५ वटा भन्दा बढी मोबाइल बरामद गरेको शिक्षा समन्वय इकाई सप्तरीका प्रमुख शंकर लुइटेलले जानकारी दिए ।

सामाजिक सञ्जाल बनाई चिट चोरी गराउने कार्यमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रजिअ पौडेलले जानकारी दिए । 

विद्यार्थीहरूको हातमा प्रश्नपत्र पर्नुभन्दा पहिले नै ग्रुप च्याटको कन्ट्रोल रुपमा प्रश्नपत्रको फोटो पुग्ने गरेको र कन्ट्रोल रूपमा रहने विषयगत शिक्षकले चिट बनाइसकेपछि त्यसको फोटो खिचेर ग्रुप च्याटमा पठाइने गरिएको पाइएको हो । 

यसैबीच बिहीवार सञ्चालन हुने एसईई परीक्षा अन्तर्गत अनिवार्य विज्ञान विषयको प्रश्नपत्र पनि सप्तरी जिल्लबाट बाहिरिएको छ । सो विषयको प्रश्नपत्र पनि सामाजिक सञ्जाल ‘इमो’मार्फ बाहिरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका हुन् । 

ब्रहमान गोरछारी परीक्षा केन्द्रमा खटिएका निरीक्षहको मोबाइबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको भन्दै पाँच जना विद्यर्थीलाई निष्काशित गरिएको छ । परीक्षा निरीक्षकबाट करिब एक दर्जनभन्दा बढी मोबाइलसमेत जफत गरी अनुसन्धान शुरु गरिएको प्रजिअ पौडेलले जानकारी दिए । 

साथै कल्यानपुर सेन्छर, जम्दह सेन्टर र डण्डा सेन्टरबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको बताइएको छ । तर, यसबारे पुष्टि हुन बाँकि रहेको उनले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?