हेलिकोप्टरबाटै बाराको फेटा गाउँपालिका नियाल्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको हावाहुरी प्रभावित क्षेत्र फेटा गाउँपालिकाको हवाई निरीक्षण गरेका छन् । 

झापाको भद्रपुर विमानस्थलबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमवार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको फेटा गाउँको हेलिकोप्टरबाट निरीक्षण गरेका हुन् । 

आइतवार विभिन्न कार्यक्रममा भाग लिन गृहजिल्ला मोरङ र झापा पुगेका प्रधानमन्त्री ओली तथा गृहमन्त्री रामबहादुर थापा बादल नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रकबाट बारा ओर्लिएका थिए । 

प्रधानमन्त्रीसँगै घटनास्थलमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि छन् । 

साथै कलैयामा प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र तीनवटै सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् ।

प्रभावित क्षेत्रको हेलिकोप्टरबाटै हवाई निरीक्षणपछि प्रधानमन्त्री कलैयास्थित सेनाको ब्यारेकमा अवतरण भएको थियो । 

यसक्रममा प्रधानमन्त्री र गृहमन्त्रीले बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको अवस्थाबारे जानकारी गराएका छन् ।

जानकारी दिने क्रममा जिल्ला अधिकारी पौडेलले आइतवार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २८ जनाको निधन भएको बताए । 

हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

घटनाबारे जाकारी लिइसकेपछि प्रधानमन्त्री कलैयास्थित अस्पतालमा पुगेका थिए । त्यहाँ उपचाररत घाइतेहरुको अवस्थाबारे जानकारी दिएका थिए । 

अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो उपचार व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिए । 

प्रधानमन्त्री ओलीलाई अस्पतालका डा सचेन्द्रकुमार यादवले उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी गराएका थिए । 

प्रधानमन्त्रीको उक्त टोली पर्साको वीरगञ्जस्थित नारायणी उपक्षत्रीय अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था बुझ्न त्यसतर्फ प्रस्थान गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?