प्रदेश २ को स्थगित एसईई परीक्षा आजदेखि पुनः शुरु

काठमाडौं । प्रदेश नं २ मा स्थगित भएको  माध्यमिक शिक्षा परीक्षा एसईई शुक्रबारदेखि शुरु भएको छ । 

लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा सञ्चालित परीक्षा स्थगित गरिएको थियो । नयाँ तालिका अनुसार आज  विज्ञान विषयको परीक्षा सञ्चालन भएको छ ।

त्यस्तै चैत २३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितिय, २७, २८ र २९ गते प्राविधिक तर्फका विषयहरुको परीक्षा सञ्चालन हुनेछ ।अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी र अनिवार्य गणितको परीक्षा मात्रै सम्पन भएका छन्।

प्रदेश २ का ८ वटै जिल्लामा स्थगित भएको परीक्षा पुनस् सञ्चालन गरिएको हो । प्रदेश २ मा जम्मा २ सय ६३ परीक्षा केन्द्र छन् । परीक्षा दिने विद्यार्थीको संख्या ७२ हजार ४९ छ ।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन परीक्षा निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगीसहित सबैलाई मोबाइल निषेध गरिएको छ ।

बिहीबार बसेको प्रदेश २ माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समितिको बैठकले परीक्षा केन्द्रमा खट्ने केन्द्राध्यक्ष बाहेक सबैलाई मोबाइल प्रयोग निषेधको साथै सम्पूर्ण विद्यार्थीलाई परीक्षाकेन्द्रमा प्रवेश गर्ने बेला अनिवार्य खानतलासी गर्न निर्देशन दिएको छ ।

बिहिबार पत्रकार सम्मेलन गरि प्रहरीले आज  प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नह रहेकाहरुलई सार्वजनिक गरेको थियो । 

प्रश्नपत्र आउट गर्ने काममा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डल, सहित ६ जना पक्राउ परेका थिए । जवान सुनरैत सप्तरी राजविराज नगरपालिका १० र मण्डल सप्तरी कंचनरुप नगरपालिका ६ का स्थायीबासिन्दा हुन् ।  

साथै सप्तरी राजविराज नगरपालिका १० बस्ने वर्ष २८ को विष्णूदेव यादव, १६ बस्ने २८ को मनोज यादव, सप्तरी हनुमाननगर कंकालिनी नगरापलिका १ बस्ने वर्ष १७ को राजेश यादव र वर्ष १७ को उमेश यादव रहेका छन् । 

यही चैत १० गतेबाट शुरु भएको एसईई परीक्षा अन्तर्गत १४ र १५ गते लगातार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो । 

यसअघि वोर्डले सूचना जारीगर्दै स्थगित परीक्षा संचालन सम्बन्धि परीक्षाको समय तालिका चैत्र मसान्त भित्रै संचालन हुने गरी प्रकाशन गरिने व्यहोरा सम्बन्धित अभिभावक, विद्यार्थी, शिक्षक लगायत सम्पूर्ण सरोकारवालाहरूलाई जानकारी गराएको थियो भने  परीक्षार्थीहरूमा पर्न गएको असुविधा प्रति राष्ट्रिय परीक्षा बोर्ड दुःख व्यक्त गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?