बुधबार १९ मङ्सिर, २०७५ Friday, 26 April, 2019

भारोत्तोलन साम्राज्यकी ‘बादशाह’ उर्फ तारादेवी पुन(भिडियो सहित)

नेपालकी सबैभन्दा शक्तिशाली महिला !

काठमाडौं । कुनै समय यस्तो थियो जब नेपाली समाजमा घाँसदाउरा बोक्ने, दुधे बच्चालाई ढाडमा बोकेर एक कोश टाढा भएको पँधेरामा पानी लिन पुग्ने, मुरी मुरी अन्नलाई भकारीबाट ढिकी र ढिकीबाट फेरि भकारी हुँदै चुलोसम्म पु-याउने जस्ता क्रियाकलाप महिलाका जिम्मेवारी हुन् भन्ने बुझाइ थियो ।

घरदेखि खेतसम्मको यात्रामा हरेक दिन हाम्रा आमा, हजुरआमा बडेमानका कान्ला र ढिस्काहरु नाघ्थे, भीर उक्लिन्थे । तर, जब कुरा त्यही क्रियाकलापलाई ‘प्रोफेसनल’ तरिकाले प्रस्तुत गर्ने आउँथ्यो तब हाम्रा बा, हजुरबाहरुको एकाधिकार प्रष्टै देखिन्थ्यो । नाम र दाम कमाउने जिम्मा पुरुषको जो थियो त्यसवेला । ‘छोरी मान्छेलाई खेलेको, कुदेको, उफ्रिएको सुहाउँदैन’ भन्दै शीलस्वभावको ताल्चा मारेर खेल र महिलाबीच लक्ष्मणरेखा कोरिदिन्थ्यो समाजले । 


ADVERTISEMENT

विद्रोहको सानो झिल्कोबाट राँको दन्काउने तिनै अल्पसंख्यक ताराहरुमा पर्छिन्, तारादेवी पुन । उनी नेपाल पुलिस क्लबकी खेलाडी हुन् । 

यस किसिमको विभेदकारी व्यवहारलाई चिर्दै नेपाली खेलकुद नक्षत्रमा ‘पहिलो महिला खेलाडी’का रुपमा चम्किने ताराहरु निकै कम छन् । विद्रोहको सानो झिल्कोबाट राँको दन्काउने तिनै अल्पसंख्यक ताराहरुमा पर्छिन्, तारादेवी पुन । उनी नेपाल पुलिस क्लबकी खेलाडी हुन् । 

यदि भारोत्तोलन साम्राज्य हुँदो हो त तारा त्यसकी ‘बादशाह’ हुन् । १६ वर्ष लामो उनको खेलयात्रामा अहिलेसम्म यस्तो कुनै राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगिता भएको छैन जसमा ताराले भाग लिएकी हुन् र स्वर्ण पदक नजितेकी हुन् ।

डेढ दशक अघि ताराले यस्तो खेल खेल्ने निधो गरिन् जुन खेल नेपालका कुनै महिलाले खेलेका थिएनन् । खेल थियो भारोत्तोलन । कसैले नगरेको काम गरेर सफल भएपछि जति नाम र सम्मान कमाइन्छ त्यसलाई सफल बनाउने यात्रामा उति नै मिहिनेत र लगन खर्चिनुपर्छ भन्ने कुरा ताराको जीवनकथाले सिकाउँछ । 

यदि भारोत्तोलन साम्राज्य हुँदो हो त तारा त्यसकी ‘बादशाह’ हुन् । १६ वर्ष लामो उनको खेलयात्रामा अहिलेसम्म यस्तो कुनै राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगिता भएको छैन जसमा ताराले भाग लिएकी हुन् र स्वर्ण पदक नजितेकी हुन् । त्यसैले उनलाई ‘नेपालकै सबैभन्दा बलियी महिला’ का रुपमा चिनिन्छ । विगत १६ वर्षदेखि ।

राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि उनको प्रस्तुति उत्तिकै तारिफयोग्य छ । भारतको गुवाहाटीमा आयोजित १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ताराले नेपाललाई कास्य पदक दिलाएकी थिइन् । उनले स्न्याचतर्फ ७० केजी र क्लिन एन्ड जर्कमा ९५ केजीसहित कुल एक सय ६५ केजी भार उठाएकी थिइन् । सागमा महिला भारोत्तोलन पहिलो पटक समावेश गरिएको थियो त्यसवेला । त्यस्तै उनले साफ च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक समेत दिलाइसकेकी छिन् ।

१६ वर्ष राष्ट्रिय स्तरमा स्वर्ण पदक जित्दा र अन्र्राष्ट्रिय स्तरमा एकपटक मात्रै देशलाई प्रतिनिधित्व गर्न पाउँदा मिल्ने खुसी बराबर हुने उनले सुनाइन् । ‘अन्र्राष्ट्रिय मैदानमा आफ्नो देशको झण्डा फर्फराउनु एउटा खेलाडीको सपना हो,’ त्यो क्षण स्मरण गर्दै प्रसन्न मुद्रामा उनले थपिन्,‘मेरो लागि त्यो एक पल देशमा खेलेको १६ वर्ष बराबर भयो ।’ 

बुबाले मलाई साथ दिनुभयो, मैले बुबालाई खुसी दिन सकिन

जसरी एउटा पुरुषको सफलतामा महिलाको हात हुन्छ त्यस्तै एक सफल छोरीको सफलतामा त्यस्ता पिताको हात हुन्छ जसले आफ्नी छोरीको सपनालाई बुझ्छ र त्यसलाई साकार पार्न हरहालतमा साथ दिन्छ । यस अर्थमा तारा आफूलाई भाग्यमानी ठान्छिन् । उनको खेललाई यदि कसैले दिलोज्यान दिएर साथ दिएका थिए भने ती हुन् उनका बुबा विरु पुन । 

भलै उनी शिक्षित र सम्पन्न थिएनन् तर, आफ्ना ५ जना छोराछोरीको सपनामा सास भर्न म्याग्दीको विकट गाउँबाट बाहिर निस्किनैपर्छ भन्ने चाहिँ बुझेका थिए उनले । 

ताराको मस्तिष्कमा अझै पनि प्रष्ट छन् ठेलाका ती चित्रहरु जो दिनभरि खेतबारीमा काम गरेका कारण उनका बुबाको हातमा उठेका हुन्थे । आफूहरुलार्ई राम्रो शिक्षादिक्षा दिनकै लागि बुबाले अरबको चर्को घाममा पसिना बगाइरहँदा कतिवटा दशैं आमाले आँसु बगाउँदै बिताएकी छिन् भनेर पनि याद छ तारालाई । त्यसैले उनलाई पश्चताप हुन्छ । थकथकी लाग्छ आफ्नो सफलता बुबाले देख्न नपाएकोमा । जीवनभर छोराछोरीको भविष्यका लागि दुख गरेका आफ्ना बुबाले आफूहरुको सफल भविष्य देख्नुअघि नै ज्यान गुमाएकोमा निकै दुख लाग्ने बताउँछिन् उनी ।

‘आमाले त अहिले पनि हरेक दिन यस्तो उचाल्ने, पछार्ने काम छोड नै भन्नुहुन्छ, बुबा भइदिएको भए ममाथि गर्व गर्नुहुन्थ्यो, शायद ।’ 

‘बुबाले अभावैअभावको बीचमा पनि हाम्रो सबै आवश्यकता पूरा गरिदिनुभयो,’ मलिन भावमा उनी अगाडि थप्छिन्, ‘तर, मैले बुबालाई खुसी दिनै पाइन ।’ 

भलिबल खेलाडीका रुपमा खेल यात्रा शुरु गरेको आफूले भारोत्तोलन खेल्छु भन्दा परिवारमा सबैभन्दा पहिले साथ दिने आफ्ना बुबा नै भएको सुनाउँछिन् उनी । भन्छिन्, ‘आमाले त अहिले पनि हरेक दिन यस्तो उचाल्ने, पछार्ने काम छोड नै भन्नुहुन्छ, बुबा भइदिएको भए ममाथि गर्व गर्नुहुन्थ्यो, शायद ।’ 

भारोत्तोलन खेल्छु भनें तर, कस्तो खेल हो थाहा थिएन

तारा भलिबलकी राष्ट्रिय खेलाडी थिइन् । उनमा सानैदेखि भलिबल खेल्ने हुटहुटी थियो । नेपाल पुलिस क्लबमार्फत् उनले आफ्नो सपना पूरा गर्ने अवसर पाएकी थिइन् । यद्यपि एकाएक उनको बाटो त्यस दिनदेखि मोडियो जुन दिन ओलम्पियन प्रमिला थापाले उनको खाइलाग्दो ज्यानलाई हेरेर ‘भारोत्तोलन’ खेल्न सुझाइन् ।

त्यसवेला भारोत्तोलन को कखरा बुझेकी थिइनन् ताराले तर, प्रमिला आफ्नो विश्वासिलो पात्र भएकाले उसले सुझाएको गलत नहोला भन्नेमा तारा ढुक्क थिइन् । उनले सिधै गएर गुरुसँग भारोत्तोलन खेल्छु भन्ने प्रस्ताव राखिन् । निकै लामो सोचविचारपछि मात्रै गुरुले उनको प्रस्ताव स्वीकारे । ट्रेनिङ शुरु भयो ।

भारोत्तोलनमा आफूलाई पोख्त सावित नगरुन्जेल आफ्नो क्षमता सधैं शंकाकै घेरामा रहेको सम्झिन्छिन् उनी । ‘मेरो निर्णयमा प्रश्न उठाउने, गर्न सक्दिनस् र छोरी मान्छेको लागि बनेकै होइन यो खेल भन्नेहरु थुप्रै भेटें,’ तारा गुनासो पोख्छिन् ।

केटाहरुकोबीचमा तारा एक्लै ट्रेनिङ गर्थिन् । अरुथोक नबुझेपनि भारोत्तोलन भनेको भारी उचाल्ने खेल रहेछ भनेर चाहिँ ट्रेनिङपछि बल्ल थाहा पाइन् उनले । भारोत्तोलनमा आफूलाई पोख्त सावित नगरुन्जेल आफ्नो क्षमता सधैं शंकाकै घेरामा रहेको सम्झिन्छिन् उनी । ‘मेरो निर्णयमा प्रश्न उठाउने, गर्न सक्दिनस् र छोरी मान्छेको लागि बनेकै होइन यो खेल भन्नेहरु थुप्रै भेटें,’ तारा गुनासो पोख्छिन् ।

तर, उनका सपनाले भरिएका आँखा, प्रतिवद्ध मस्तिष्क र हार नमान्ने मुटुको अगाडि कसैको जोर चलेन । अहिले ताराले सबैको माया पाएकी छिन् । सम्मान पाएकी छिन् । आफू नेपालकै पहिलो महिला भारोत्तोलन खेलाडी भएकाले पनि भावी खेलाडीका लागि ‘बेन्चमार्क’ कोरिदिने जिम्मेवारी आफ्नो काँधमा आएको महसुस हुन्छ तारालाई ।

‘मैले आफ्नो खेलजीवनमा जस्तो प्रस्तुति दिन्छु त्यो भावी खेलाडीका लागि इतिहास बन्नेछ,’ तारा अगाडि थप्छिन्, ‘पहिलो खेलाडी भएकाले पनि मैले उदाहरणीय बन्नैपर्छ ।’

Leave a comment