जेब्रा क्रसिङमा नरोके पाँच सय जरीवाना !

काठमाडौं । काठमाडौंका सडकको जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि कारवाही हुने भएको छ ।  पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी चालकले गाडी नरोक्ने प्रवृत्ति मौलाएपछि ऐन नै बनाएर कडाई गर्न लागिएको हो ।

काठमाडौं महानगरपालिकाले जारी गरेको ‘सवारी तथा यातायात व्यवस्थापना बिधेयक, २०७५’ मा चालक र परिचालकको कर्तव्य तोकिएको छ ।  ऐनको दफा १२ मा उल्लेखित चालकको कर्तब्यहरुमध्ये बुँदा ‘घ’ मा जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने चालकमाथि कारवाहीको व्यवस्था गरिएको छ । यो कसुरमा चालकमाथि पहिलो पटक दुई सय र दोस्रो पटक पाँच सय रुपैयाँसम्मको जरिवाना हुने ऐनमा उल्लेख छ ।  

महानगरपालिकाले सवारी चालकमाथि थप निषेधित कार्यहरु तोकि सार्वजनिक यतायातलाई व्यवस्थित र मर्यादित बनाउन खोजेको छ । 

ऐनअनुसार अब सवारी साधनमा अश्लिल फोटो टाँस्ने, अश्लिल गीत बजाउने, जथाभावी पार्किङ गर्ने, निर्धारित रुटमा सवारी साधन चलाउन इन्कार गर्ने चालकमाथि जरिवाना गरिनेछ ।

उल्लेखित कसुर गर्ने चालकमाथि अब पहिलो पटक पाँच सय र दोस्रो पटक एक हजार रुपैयाँ जरिवाना हुनेछ ।  यस्तै मदिराजन्य र सूर्तिजन्य पदार्थ सेवन गरी सवारी चलाउने, यौनजन्य दुर्व्यवहार गर्ने र कानूनले निषेध गरेका अन्य क्रियाकलाप गर्ने चालकमाथि पहिलो पटक हजार रुपैयाँ जरिवाना गरिनेछ ।

अनुगमनका क्रममा दोस्रो पटक पनि सोही कसुर गरेको भेटिए सेवाबाटै हटाउन सम्बन्धित कम्पनी वा संस्थालाई सिफारिश गर्नुपर्ने व्यवस्था ऐनमा छ ।

यि कसुरमा अनुगमन समितिको सिफारिस अनुसार सम्बन्धित कम्पनी वा संस्थाले कारवाही गर्नै पर्ने बाध्यकारी व्यवस्था राखिएको छ ।

महानगर क्षेत्रको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न भन्दै जारी गरिएको ऐनमा सहचालकहरुको पनि कर्तब्य तोकिएको छ । साथै त्यो पालना नगरे कारवाहीको व्यवस्था ऐनमा छ ।

सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने परिचालकले यात्रु, चालक तथा अन्य व्यक्तिसँग शिष्ट, शालिन र सभ्य व्यवहार गर्नुपर्नेछ ।

यस्तै यात्रुसँग सरकारले तोकेको भाडादर भन्दा बढी रकम लिए, टिकट दिन नमाने, भाडाबाहेकको रकम फिर्ता गर्न आलटाल गरे, यात्रुसँग अशिष्ट भाषामा कुरा गर्ने, निर्धारित पोशाक लगाई काम गरे पनि कारवाहीको भागिदार बन्नुपर्नेछ । सार्वजनिक यातायातलाई व्यवस्थित गर्न भन्दै ल्याइएको ऐन कार्यान्वयनका लागि अनुगमन समिति गठन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?