उद्योग वाणिज्य महासंघले उठायो सामाजिक सुरक्षा योजनामाथि प्रश्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सामाजिक सुरक्षा योजना माथि प्रश्न उठाएको छ । 

सरकारले निकै महत्वका साथ घोषणा गरेको समाजिक सुरक्षा योजना प्रभावकारी रुपमा लागू नहुँदै महासंघको साधारणसभाले यसमा प्रश्न उठाउँदै पुनर्विचार गर्न सरकारसँग माग गरेको छ ।

सरकारले मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो । 

यसअनुसार श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत र र रोजगारदाताले २० प्रतिशत गरी ३१ प्रतिशत रकम कोषमा जम्मा हुन्छ ।

महासंघले साधारणसभाबाटै पारित गरेर उद्योग प्रतिष्ठानहरुलाई पुँजीको आधारमा वर्गीकरण गरेर मात्र सामाजिक सुरक्षा ऐन लागू हुनुपर्ने माग राखेको छ । 

‘साना उद्योगीहरुलाई एकैपटक यसमा ल्याउन अप्ठ्यारो छ, सबै उद्योगमा एकैपटक लगाउन कठिन हुने देखिएकाले चरणवद्ध रुपमा लैजान भनेका हौं’ महासंघकी अध्यक्ष भवानी राणाले भनिन् । 
साथै महासंघले श्रम ऐनमा पनि संशोधन माग गरेको छ । 

सीमा पारीबाट आउने मजदुर लगायतका कारण श्रम ऐन र सामाजिक सुरक्षा ऐन लागू गर्न चुनौती थपिएको उद्योग वाणिज्य महासंघकी अध्यक्ष राणा बताउछिन् । 

साधारणसभाले मेला महोत्सवको आयोजना आधिकारिक संस्थालाई मात्र दिनुपर्ने, थिंक ट्यांकको स्थापना गर्ने लगायतका प्रस्ताव समेत पारित गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?