लुक्ला विमान दुर्घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन

काठमाडौं । सरकारले आइतवार बिहान सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा भएको विमान दुर्घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा समिति नै गठन गरेको हो ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले विज्ञप्ति जारी गर्दै समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य र समिति सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई तोकिएको उल्लेख छ ।

लुक्ला विमानस्थलमा आइतवार बिहान करिब ९ः३० बजे समिट एयरको ‘नाइन एन एएमएच’ कलसाइन विमान दुर्घटना भएको थियो । समिट एयरको हवाई जहाज काठमाडौंतर्फ उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको ‘नाइनएन एएलसी’ कल साइन हेलिकप्टरसँग ठोक्किएको थियो । 

घटनामा समिट एयरका को–पाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको थियो । साथै दुर्घटनामा परी घाइते भएको असई रुद्रबहादुर श्रेष्ठको उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो । 

दुर्घटनामा परी घाइते भएका समिट एयरका पाइलट रवीन्द्र बहादुर रोकाया र हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ सामान्य उपचारपश्चात् घर फर्किसकेका छन् । भने मनाङ एयरका कर्मचारी लाक्पा शेर्पाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?