यू-१९ विश्वकप छनोट : नेपालद्वारा कुवेत पराजित

काठमाडौं । ‘आइसीसी’ यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको अन्तिम खेलमा नेपाल विजयी भएको छ । 

मलेसियामा बिहीवार भएको खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको हो । १ सय ५८ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालले २८ ओभरमा मात्र दुई विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो ।

नेपालले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेको थियो । नेपालका दुबै ओपनर ब्याट्सम्यान पवन सराफ र रित गौतमले अर्धसतकीय पारी खेले । पवनले ५३ रन तथा रित ६२ रनमा पेभेलियनमा फर्किए ।  त्यस्तै आसिफ शेखले अविजीत ३३ रन बनाए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कुवेतले १९ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५७ रनको योगफल तयार पारेको थियो । 

कुवेतका लागि नोमन बुद्रोले अर्धशतकिय पारी खेले । उनले ७० रन जोडेका थिए । गोकुल कुमारले ३६ रन, हमुद अमनउल्लाहले १७ रन तथा मिट भाब्सरले १० रन जोडे । कुवेतको पारी ध्वस्त पार्ने क्रममा नेपालका  कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३ विकेट हात पारे ।

त्यस्तै कुशल मल्ल, सुर्य तामाङ र राशिद खानले समान २-२ विकेट लिए । कुवेतविरुद्धको खेलमा जीत हात पारेपनि नेपालको विश्वकप क्रिकेट खेल्ने सपना भने अधुरो नै रह्यो । बिहीवार नै भएको खेलमा संयुक्त अरब इमिरेट्स ‘युएई’ले ओमनलाई पराजित गरेसँगै नेपालको अघिल्लो चरणको यात्रा तय गर्न असफल भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?