विप्लव नेतृत्वको नेकपाद्वारा मध्यकमाण्ड इन्चार्जको जिम्मेवारी प्रकाण्डलाई

काठमाडौं । प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध सरकार कठोर बन्दै गएका बेला नेकपाले मध्यकमाण्ड इन्चार्जको जिम्मेवारी  खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई दिएको छ ।  हेमन्त प्रकाश ओलीले सम्हालेको जिम्मेवारी उनलाई दिइएको हो  । 

गत फागुन १० गते नख्खुस्थित एनसेलको मुख्यालयको गेट अगाडि गराइएको बम बिस्फोट घटनाको जिम्मा लिएका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओली महिनादिन अघि पक्राउ परेका थिए। चैत १४ गते सर्वोच्च अदालतले ओलीलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएकोमा चैत २७ गते सर्वोच्च अदालतले वलीकी छोरीले दिएको बन्दी प्रत्येक्षीकरणको रिट खारेज गर्ने फैसला गरेको थियो । 

 ‘विप्लव’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीचको मतभेद चुलिएको खबर केहि समयअघि सञ्चारमाध्यममा व्यापक रुपमा आईरहदा आज (बिहीवार) मध्यकमाण्ड इन्चार्जको जिम्मेवारी  उनै  ‘प्रकाण्ड’ लाई दिएको हो । यसअघि चैत ११ गते  विप्लवले आफ्ना केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गर्दै ‘प्रकाण्ड’लाई उपत्यका ईञ्चार्जबाट हटाएएका थिए । 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहका नेता तथा कार्यकर्तालाई चैत महिना भित्र पक्राउ गरिसक्ने बताएका थिए । तर, वैशाख ५ गते भइसक्दा पनि प्रधानमन्त्री ओलीको आग्रह विप्लवले मानेका छैनन् । बरु आज विप्लव नेतृत्वले देशभर बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव काठमाडौंमा सामान्य भएपनि देशका विभिन्न भागमा विष्फोटन तथा शंकास्पद वस्तु फेला परेकोले आम नागरिकमा त्रास छाएको छ ।

यता सुरक्षा निकायले देशभर विप्लव समूहविरुद्ध कडा निगरानी शुरु गरेको छ ।  प्रतिवन्धित समूहको सक्रियता बढी रहेका जिल्लाको अनुसन्धान गरी उच्च सुरक्षा सतर्कता अपनाउँदै सर्च अभियान नै चलाईएको छ । सशस्त्र प्रहरीले विभिन्न स्थानमा सामूहिक गस्ती परिचालन गरेका छन् । राष्ट्रिय अनुसन्धान विभाग र  नेपाली सेनाले पनि गोप्य विप्लव समूहको गतिविधिको निगरानी, सूचना संकलन, पक्राउ तथा सर्च गर्ने लगायतका काम गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?