चन्द्रकलाले बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

दाङ । आठौँ राष्ट्रिय खेलकूद अन्तर्गत महिला सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । 

उनले नयाँ कीर्तिमानसँगै स्वर्ण पदक पनि जितेकी छिन् ।दाङको बेलझुण्डीमा बिहीवार चन्द्रकलाले १२ दशमलब ०४ मिटर सटपुट फाल्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । उनले आफ्नै नाममा रहेको ११ दशमलब ५६ मिटरको कीर्तिमान भंग गरेकी हुन् ।  

राष्ट्रिय कीर्तिमान बनाएसँगै चन्द्रकलाले थप २५ हजार रुपैयाँ पाउने छिन्।

यस स्पर्धामा प्रदेश पाँचकी संगीता अधिकारीले १० दशमलब १५ मिटरका साथ रजत जित्दा पुलिसकी बसन्ती चौधरीले १० दशमलब ०५ मिटरसहित कास्य पदक जितिन् ।

सटपुटतर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक हात पारे । उनले १२ दशमलब १९ मिटर सटपुट फाल्दै स्वर्ण पदक हात पारे । त्यस्तै पुलिसका पुष्कल शर्माले रजत तथा आर्मीका चित्रबहादुर वलीले कास्य पदक हात पारे । 

महिलाको १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढाले स्वर्ण पदक जितिन् । यता पुरुषको १० हजार मिटर दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जिते । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?