वाइडबडी विमान बिक्रीमा संलग्न पाँच अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अख्तियारले बोलायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान बिक्रीमा संलग्न रहेका पाँचवटा अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई बोलाएको छ । 

नेपाल वायुसेवा निगमलाई दुईवटा ठूला जहाज (वाइडबडी) बिक्रीमा संलग्न रहेका पाँचवटा अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिलाई बोलाएको हो ।

सार्वजनिक सूचनामार्फत अख्तियारले जहाज बिक्रेता हाइफ्लाई एक्स आएरल्याण्डसहित अन्य चार कम्पनीका प्रतिनिधिलाई आवश्यक कागजातसहित सात दिनभित्र उपस्थित आदेश दिएको हो । 

अख्तियारले एएआर इन्टरनेसनल आइएनसी वुड डेल, जर्मन एभिएसन क्यापिटल जिएमबिएम फ्र्यांकफर्ट जर्मनी, हाइ फ्लाई ट्रान्सपोर्ट एरोस एसए (हाइ फ्लाई एयरलाईन्स पोर्चुगल) र नर्नट रोज फुलब्राइट एलएलपी जर्मनीका प्रतिनिधिलाई बोलाएक हो ।

‘ए३३०–२०० जहाज खरिदको विषयमा परेको उजुरीका आधारमा उल्लिखित कम्पनीका प्रतिनिधिलाई सात दिनभित्र आयोगमा उपस्थित हुन भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४३ बमोजिम यो सूचना प्रकाशन गरिएको छ, यसको परिपालना नभएमा प्रचलित कानूनबमोजिमको कारबाही अघि बढाइनेछ’ अख्तियारले भनेको छ ।

नेपाल वायुसेवा निगमले २४ अर्ब रुपैयाँमा भित्र्याएका दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ । 

विमान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै परेको उजुरीमाथिको छानबिनका क्रममा अख्तियारले बिक्रेता कम्पनीका प्रतिनिधिलाई बोलाएको हो । 

निगमले २०७५ को असार र साउनमा युरोपेली कम्पनी एयरबसका दुईवटा जहाज हाइफ्लाई एक्स नामक कम्पनीबाट खरिद गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?