बुधबार १९ मङ्सिर, २०७५ Sunday, 26 May, 2019

राजेन्द्रको जीवनको त्यो टर्निङ प्वाइन्ट, जसले उनलाई सफल ‘गोपी’ बनायो

‘गोठालो भन्दै गिज्याउँछन् कि भन्ने सोचेको थिएँ’

‘आफ्नै देशमा इलम गरौं’ भन्ने सन्देशका साथ चलचित्र गोपी बनाइयो । विदेशको सट्टा आफ्नै देशमा गाई पालेर बस्छु भन्ने एक स्वाभिमानी र परिश्रमी युवाको कथा उठान गरेको उक्त चलचित्रले चौतर्फी चर्चा कमायो । चलचित्रमा विपिन कार्कीले गाई पाल्ने ‘गोपी’को भूमिका निभाएका थिए । उनको अभिनयले कथालाई सतप्रतिशत न्याय गरेको भन्दै दर्शकले खुब तारिफ गरे । ‘फिल्म गाई पाल्ने सबै गोपीहरुको कथा हो’ फिल्मका कथाकार समीप्यराज तिमल्सिनाले भनेका थिए । उनको यो भनाइलाई राजेन्द्र खनालको जीवनले प्रतिबिम्बित गर्छ । राजेन्द्र खनाल अर्थात् रियल लाइफका रियल गोपी । उनले पनि वैदेशिक रोजगारको लोभ त्यागेर गाई फार्म खोलेका छन् जसरी ‘गोपी’मा विपिनले खोलेका थिए । फरक यत्ति हो फिल्मका गोपीले परिवारको साथ पाएका थिएनन्, रियल गोपीले पाएका छन् ।  

टोखास्थित ग्रान्डी अस्पतालदेखि करिब १० मिनेटको पैदलयात्रापछि पुगिन्छ राजेन्द्र खनालको सिटी काउ फार्म । फार्ममा राजेन्द्रले गाईपालनसँगै टमाटर, खुर्सानी, फर्सी, साग लगायत सब्जी पनि रोपेका छन् । गाईले दिएको मलमुत्रको पनि सदुपयोग होस् भन्ने उद्देश्यले आफूले यस्तो गरेको उनले सुनाए । ‘यस फार्मबाट केही नाश भएर जाँदैन,’ उनले भने, ‘गाईको मलमुत्र बारीमा प्रयोग हुन्छ अनि बारीको घाँसपात गाईले खान्छ’। 


ADVERTISEMENT

फार्मबाट कम्तीमा दिनको १ सय ३० लिटर दुध उत्पादन हुने उनी बताउँछन् । त्यस्तै १ वर्षमा ७ लाखको त सब्जी मात्रै बेच्छन् उनी । बारीमा प्रयोग गरेर बाँकी भएको मल पनि बेच्छन् । १ ट्रकको ३ हजार रुपैयाँको दरले । ‘हावामा पैसा छ’ राजेन्द्रले सावित गरेका छन् । फरक यत्ति हो उनले माटोमा पैसा फलाए । दुई रोपनी जमिनलाई सुनको टुक्रा बनाए । ‘पैसा कमाएँ त्योभन्दा बढी आत्मसन्तुष्टि कमाएँ,’ मुस्कुराउँदै राजेन्द्र थप्छन्, ‘त्यो दिन यो निर्णय नलिएको भए शायद यस्तो अनुभूति गर्न पाउने थिइन ।’ 

‘के भएको थियो त्यो दिन ?’ हामीले जिज्ञासा राख्यौं ।

हाम्रो प्रश्न लगत्तै उनले स्मरण गरे आफ्नो जीवनको त्यो टर्निङ प्वाइन्ट जसले आज उनलाई एक उद्यमी युवा बनाएको छ । फलीफापै फलीफाप गराएको छ । आमाको हातको मीठो खाना र बुबाको सामीप्य दिलाएको छ ।

घटना :
विदेश जाने लहड चल्यो । राजेन्द्रसँगै बिएचएम सकेका साथीहरु यूरोप, अस्ट्रेलिया, अमेरिका उडिसकेका थिए । राजेन्द्रले पनि यूरोप जाने योजना बनाए । पोल्यान्डका लागि अप्लाइ गरे । भिसा लाग्यो । उड्न केही दिन मात्रै बाँकी हुँदा एक रात अचानक छिमेकका बुबा बेहोस भए तर, उनलाई अस्पतालसम्म पु¥याउन घरमा कोही थिएन । छोराछोरी पढाइ र कामको सिलसिलामा विदेश गएका । राजेन्द्रले आफ्नै काँधमा बोकेर उनलाई अस्पतालसम्म पु¥याए । उपचार गराए । घर फर्किए । सोचे, ‘अब विदेश जान्न ।’

राजेन्द्रको विदेश नजाने निर्णयले परिवार खुसी भयो । यद्यपि त्यसको बदलामा गाईपालन गर्छु भन्दा आमाले केही असन्तुष्टी जनाइन् । उनलाई डर थियो छोरालाई सबैले गोठालो भन्दै गिज्याउने छन् । बुबाले त्यसवेला भनेको वाक्यले भने राजेन्द्रलाई निकै राहत दिलायो । ‘कसैको नोकर भएर करोडौं कमाउनुभन्दा आफै मालिक भएर हजार कमाएको राम्रो हो छोरा’ बुबाका यिनै शब्दलाई बोकेर हिँडिरहेका छन् राजेन्द्र । यसो गर्नाले उनलाई फाइदै छ । घरमै बसेर लाखौं कमाइरहेका छन् । उनलाई अमेरिका यहीं, यूरोप पनि यहीं भएको छ । फेरि गाई आफैमा जति सुवानी पशु हो त्यसलाई पाल्न उत्तिकै सहज र लचिलो हुने राजेन्द्रको भनाइ छ ।

‘काहीँ जाने काम प-यो वा घुम्न जान मन लाग्यो भने काम गर्नेकै भरमा छोडेर जान सकिन्छ,’ यस पेशाको फाइदाका बारेमा राजेन्द्र भन्छन् । यस्ता केही अवस्थाहरु वाहेक उनी प्राय गोठमै हुन्छन् । दिनको जुनसुकै समय त्यहाँ पुग्नुस् राजेन्द्रलाई अवश्य भेटिन्छ । गोठ, गाई, दुध यिनैको वरिपरि राजेन्द्रको दिन घुमिरहेको छ विगत केही वर्षदेखि । गाईलाई पशु होइन साथी मान्ने राजेन्द्र राज्यलक्ष्मी, राजकुमारी, ऐश्वर्या आदिजस्ता शालीन नामले पुकार्छन् उनीहरुलाई । बदलामा पुच्छरले हानेर, चाटेर, काँधतिर टाउको निहुराएर उनका राजकुमारीहरुले पनि उनको स्वागत गरिदिन्छन् ।

सानो छँदा छिमेकीको गाईलाई चरिरहेकै ठाउँबाट फुकाएर आफ्नो घरमा पाल्न ल्याउने राजेन्द्रको गाईसँगको यस्तो लगाव देखेर परिवार चकित हुन्थे । केही वर्ष अघिसम्म पनि गोठालो, काउ जस्ता नामले खिस्सी गर्थे साथीहरु । तर, राजेन्द्रलाई यी नामले कहिल्यै लज्जा महसुस गराएन । बरु उनलाई जिस्काउने साथीहरु अहिले लाज मान्छन् । विदेशबाट फर्किएपछि त्यस्तै फार्म खोल्नलाई सल्लाह सुझाव माग्छन् राजेन्द्रसँग । 

आफ्नो कामले सम्मान पाउन थालेपछि झनै काम गर्ने हौसला बढेको बताउँछन् राजेन्द्र । त्यसैले होला बसाइ बसुन्धरामा भएपनि उनी सवेरै गाई दुहुन टोखा पुग्छन् । आधा दुध गोठैबाट बिक्छ, बाँकी बसुन्धरास्थित आफ्नै किराना पसलमा ल्याएर बेच्छन् । 

डेरीले दुधमाथि गरिरहेको राजनीतिका कारण किसानहरुले बजार नपाएको र बजार पाएकाले उचित मूल्य नपाएको समाचारले आफूलाई निकै दुखी बनाउने उनी सुनाउँछन् । ‘दुध बिक्री नहुने र बिक्री भएपनि डेरीले समयमा उचित रकम नदिने कारणले गर्दा कति किसान मर्कामा छन्,’ आफूले यस्तो समस्या कहिल्यै भोग्नु नपरेको भन्दै उनी अगाडि थप्छन्, ‘धन्न अहिलेसम्म हाम्रो फार्मले त्यो समस्या झेलेको छैन ।’

विदेशी डेरी प्रोडक्टको बजार विस्तारले गर्दा पनि यस्ता समस्या निम्तिएको हुन सक्ने राजेन्द्रको अनुमान छ । उनी चाहन्छन् कम्तीमा दुध र दुधबाट निर्मित उत्पादनका लागि देश आत्मनिर्भर बनोस् । 

 

Leave a comment