आशिष र सरस्वतीलाई स्वर्ण पदक

बाँके । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत ४४ औँ राष्ट्रिय एथ्लेटिक्सको २ सय मिटर दौडमा एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरी शनिवार पहिलो भएका छन् । 

आशिष पुरुष र सरस्वती महिलामा पहिलो भएका हुन् । दुवै १ सय मिटर दौडमा पनि पहिलो भएका थिए ।

दाङको बेल्झुण्डीमा भएको स्पर्धामा आशिषले निर्धारित दूरी २१ दशमलब ८३ सेकेन्डमा पूरा गरे । आर्मीका अभिषेक चौधरी दोश्रो तथा प्रदेश ४ का प्रकाश राना मगर तेश्रो भए । महिलाको निर्धारित दूरी तय गर्न सरस्वतीले २६ दशमलब २६ सेकेन्ड समय खर्चिन् । प्रदेश ५ की जयरानी चौधरी दोश्रो तथा आर्मीकी कृष्णा चौधरी तेश्रो बने ।

पुरुष डिस्कस थ्रोमा आर्मीका चित्रबहादुर ओली पहिलो भए । उनले ३७ दशमलब ०२ मिटर टाढा फाले । प्रहरीका पुस्कल खड्का दोश्रो तथा प्रदेश १ का रन्जिल श्रेष्ठ तेश्रो भए । उक्त स्पर्धाको महिलामा आर्मीकी अमृता महतो पहिलो भइन् ।

अमृताले ३६ दशमलब ०३ मिटरको प्रदर्शन गरिन् । प्रदेश ५ की संगीता अधिकारी दोश्रो तथा एपीएफकी जितकुमारी महतो तेश्रो स्थानमा रहे ।

पुरुष हाइजम्पमा आर्मीका सूर्यबहादुर खत्रीले स्वर्ण जिते । उनले १ दशमलब ८५ मिटर उचाई नाघे । प्रहरीका गोपाल चौधरीले रजत तथा प्रहरीकै विकास खाँड ठकुरीले कास्य पदक जिते । सो स्पर्धाको महिलामा १ दशमलब ५० मिटर उचाइ नाघ्दै एपीएफकी शिला चौधरी शीर्ष स्थानमा रहिन् ।

आर्मीकी संगीता सिन्जाली दोश्रो भइन् । प्रदेश १ की विन्दु चौधरी र प्रदेश ५ की अनिता चौधरी संयुक्त रुपमा तेश्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?