सुटिङमा अस्मिता शीर्ष स्थानमा

बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय सुटिङको महिला १० मिटर एयर राइफलको व्यक्तिगत स्पर्धाको पहिलो दिनको खेल सकिँदा प्रहरीकी अस्मिता राई ५ सय ६६ अंकसाथ शीर्ष स्थानमा छिन्।

प्रदेश ५ की बसन्ती केसी ५ अंक १ अंकमा दोश्रो तथा कर्णाली प्रदेशकी सीता सिंह ४ सय ९८ अंकमा क्रमशः दोश्रो र तेश्रो स्थानमा छन् । सो स्पर्धाको पुरुषमा आर्मीका सुशे चौधरी ५ सय ६५ अंकमा पहिलो, गण्डकीका धनबहादुर विक ५ सय ५७ अंकमा दोश्रो र प्रहरीका हरिबहादुर थापा ५ सय ५५ अंकमा तेश्रो स्थानमा छन् ।

पुरुष १० मिटर एयर पेस्तोलको व्यक्तिगतमा आर्मीका कुवेर केसी पहिलो, प्रहरीका सुकदेव चौधरी दोश्रो र प्रदेश २ का जग्गीलाल महतो तेश्रोमा छन् । उक्त स्पर्धाको महिलामा प्रहरीकी सीमा तुलाधर पहिलो, सुदूरपश्चिमकी सावित्री बोहरा दोश्रो र प्रदेश १ की कमला राई तेश्रो स्थानमा छन् ।

राइफलको पुरुषमा १६ र महिलामा १७ तथा पेस्तोलको पुरुष÷महिला दुवैमा समान १६–१६ खेलाडी सहभागी छन् । सबै खेल सकिएपछि फाइनलमा पुग्ने शीर्ष ८ खेलाडीको टुंगो लाग्नेछ । आठ खेलाडीबीचको फाइनल २ सय ४० अंकको हुनेछ भने क्वालिफाइङ चरणका खेल ६ सय पूर्णाङकमा भइरहेको छ ।

नेपालगन्ज रंगशालाको परिसरमा रहेको सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच शुभारम्भ गरे ।

प्रतियोगितामा सातै प्रदेश, प्रहरी र आर्मीका ६५ खेलाडीले व्यक्तिगत र टिममा गरी ४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । पुरुषको २४ औँ तथा महिलाको २३ औँ संस्करण हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?