एउटै संगठनको दुई थरी विज्ञप्ति : हिजो गाली, आज ताली !

काठमाडौं । समाचार लेखेको विषयमा राष्ट्रिय विद्यार्थी संघका महासचिवले पत्रकारलाई गालीगलौज गर्दै निकालेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्षले विरोध गर्दै विज्ञप्ति निकालेका छन् । 

राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्षद्वारा सोमवार जारी विज्ञप्तिमा पत्रकारलाई गालीगलौज गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव ‘केसी’ ले विज्ञप्ति निकालेर विरोध गरेका हुन् ।  

महासचिव मिश्रले आइतवार विज्ञप्ति जारी गर्दै टूडेखबर डटकमका सञ्चालक अनन्त अनुरागलाई तुच्छ शब्द प्रयोग गरेका थिए । 

आज जारी  विज्ञप्तिमा कुनै पनि समाचार सञ्चार माध्यममा प्रकाशन-प्रसारण हुँदा चित्त नबुझेमा कानूनी प्रकृया  अनुसार जानुपर्नेमा पत्रकारलाई तुच्छ शब्द प्रयोग गरिएकोमा आपत्ति जनाउँदै भनिएको छ, ‘राष्ट्रिय विद्यार्थी संघ स्थापनाकालदेखि नै पत्रकारमैत्री र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको यहाँहरुलाई स्मरण नै छ । हामी कुनै पनि बहानामा पत्रकारलाई अप्ठ्यारो पर्ने र प्रेस स्वतन्त्रता हनन हुने किसिमका कामकारवाही हुन नदिने र कसैले गर्दा पनि त्यसको विपक्षमा उभिदै आएको पनि स्मरण गराउन चाहन्छौं । पत्रकारहरुले विभिन्न समयमा गरेको आन्दोलनमा हामीले ऐक्यबद्वता जनाएको यहाँहरुलाई अवगतै हुनुपर्छ ।’ 

‘कसैले व्यक्तिगत रिस साँध्न संगठनलाई नै प्रयोग गर्नु दुःखद हो । व्यक्तिगत भए संगठनको लेटर प्याड नै प्रयोग गरी मनमानी गर्नु कुनै पनि संगठनका लागि सह्य हुँदैन् ।’ विज्ञप्तिमा भनिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?